रवि–बालेनको कार्यशैली धुर्मुस–सुन्तलीको बाटोमाः शंकर पोखरेल
४ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको योजनादेखि मुलुकको पछिल्लो राजनीतिक अवस्थासम्म टिप्पणी गर्दै नेतृत्वप्रति प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा त्यति ठुलो परियोजना सुरु गर्नु अपरिपक्व कदम जस्तै रवि–बालेनको अहिलेको कार्यशैलीलाई तुलना गरेका छन् ।
पोखरेलले समयको चेत भन्दै रकम अभाव र बढ्दो उधारोका कारण धुर्मुस सुन्तलीको परियोजना संकटमा परेको र उनीहरू पलायन हुन बाध्य भएको बताएका छन् ।
‘अहिलेको नयाँ राजनीतिक नेतृत्व (रवि–बालेन समूह) को कार्यशैली पनि ठ्याक्कै त्यस्तै दिशामा अघि बढिरहेको देखिन्छ’, पोखरेलले भनेका छन्, ‘राजनीति लामो संघर्ष, समर्पण र राज्य सञ्चालनको कला तथा विज्ञान हो । केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा आज मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको छ ।’
उनले स्पष्ट योजना र दूरदर्शिताबिना राज्यसत्ता सञ्चालन गर्न खोजिए धर्मुस–सुन्तलीको परियोजनामा देखिएको जस्तै असमयमै पलायनको बाटो रोज्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। पोखरेलले समयमै सचेत भएर मुलुकको राजनीतिक तथा आर्थिक अवस्थालाई सही दिशामा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : August 20, 2026 at 12:08 pm


