रुपाकोट रिसोर्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
३ भदौ, काठमाडौं । रुपाकोट रिसोर्टले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि एनआईसी एशिया क्यापिटललाइ बिक्री प्रबन्धक नियुक्त गरेकाे छ ।
एनआईसी एशिया क्यापिटलले आफ्नाे ‘आईडीईए टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
पोखरा, कास्कीमा अवस्थित रुपाकोट रिसोर्ट नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको एक आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ । प्राकृतिक सौन्दर्य, शान्त एवं रमणीय वातावरण, हिमाली शृंखलाको मनोरम दृश्य तथा रुपा र बेगनास तालको मनमोहक दृश्यावलोकन गर्न सकिने विशेष भौगोलिक अवस्थित यस रिसोर्टको प्रमुख विशेषताका रूपमा रहेका छन् ।
पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रिसोर्टले आफ्नो सेवा निरन्तर विस्तार गर्दै आइरहेको छ ।
पछिल्लो समयमा रुपाकोट रिसोर्टले आधुनिक सुविधा र स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशबीचको सन्तुलन कायम गर्दै पाहुनालाई आरामदायी तथा अविस्मरणीय आतिथ्य अनुभव प्रदान गर्दौ रिसोर्टमा उपलब्ध आवासीय सुविधा, भोजन तथा पेय पदार्थ सेवा, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधारले यसलाई पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सफल भएको छ ।
प्रकाशित मिति : August 19, 2026 at 10:28 am


