९९औँ ओस्कार अवार्ड: ‘इन्टरनेसनल फिचर फिल्म’ विधाका लागि नेपाली चलचित्रको आवेदन खुला
२ भदाै, काठमाडौँ । नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति-२०२६ ले ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म अवार्ड’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्र छनोटको प्रक्रिया सुरु गरेको छ।
अध्यक्ष लक्ष्मीनाथ शर्माको हस्ताक्षरमा समितिले सूचना जारी गर्दै मापदण्ड पुगेका नेपाली चलचित्रहरूलाई यहि भाद्र २२ गते (सेप्टेम्बर ७, २०२६) अगावै आवेदन दिन आह्वान गरेको छ। ओस्कारको यस गरिमामय विधामा सहभागिता जनाउन इच्छुक चलचित्र निर्माताहरूले काठमाडौँस्थित समितिको सचिवालयमा तोकिएको समय सीमाभित्र आफ्ना चलचित्र दर्ता गराउनुपर्नेछ।
ओस्कारको प्रतिस्पर्धामा सामेल हुन चलचित्रले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण पाएको हुनुपर्नेछ भने वि.सं. २०८२ असोज १५ (१ अक्टोबर २०२५) देखि वि.सं. २०८३ असोज १४ (३० सेप्टेम्बर २०२६) भित्र स्थानीय सिनेमा घरमा रिलिज भएको हुनुपर्नेछ। चलचित्र व्यावसायिक सिनेमा घरमा लगातार कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने प्रावधान छ। यस सर्तलाई सहज बनाउन, अमेरिका र यसका भूभाग बाहेक अन्य देशका व्यावसायिक सिनेमा घरमा टिकट काटेर लगातार सात दिन प्रदर्शन भएका चलचित्रलाई पनि मान्यता दिइने जनाइएको छ। यदि यो सर्त पूरा नभएको खण्डमा, चलचित्रले ओस्कारले तोकेका विभिन्न आधिकारिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा ‘क्वालिफाइङ अवार्ड’ जितेको हुनुपर्नेछ। यद्यपि, टेलिभिजन, भीओडी, डिभिडी, इन्टरनेट स्ट्रिमिङ वा एयरलाइन इन्टरटेनमेन्ट जस्ता माध्यमबाट पहिलो पटक रिलिज भएका चलचित्रहरू भने छनोटका लागि अयोग्य हुनेछन्।
यसै गरी, चलचित्रको निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्ने र चलचित्रमा नेपाली परिवेश तथा तत्त्वहरू झल्किएको हुनुपर्ने सर्त राखिएको छ। चलचित्रको ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्नेछ र स्पष्ट बुझिने अङ्ग्रेजी सब-टाइटल अनिवार्य रूपमा राखिएको हुनुपर्नेछ।
छनोटमा परेको खण्डमा चलचित्रले ओस्कारको प्राविधिक मापदण्डसमेत पूरा गर्नुपर्नेछ। जसमा भिडियो ३५ एमएम वा ७० एमएमको फिल्म, वा न्यूनतम २०४८ गुणा १०८० पिक्सेल रिजोलुसनसहितको २४ वा ४८ फ्रेमको डीसीपी फर्म्याटमा उपलब्ध हुनुपर्नेछ भने अडियो साउन्ड ५.१ वा ७.१ च्यानलमा हुनुपर्नेछ।
इच्छुक निर्माताले अनलाइन आवेदन फारम भरी आवश्यक सामग्रीहरूसहित काठमाडौँस्थित सचिवालयमा सम्पर्क गर्न सक्नेछन्। यस सम्बन्धी थप नियम र प्राविधिक जानकारी ओस्कारको आधिकारिक वेबसाइटबाट पनि हेर्न सकिने समितिले जनाएको छ। आवेदन तथा थप जानकारीका लागि नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समितिका अध्यक्ष लक्ष्मीनाथ शर्मालाई सम्पर्क गर्न वा समितिको आधिकारिक इमेल [email protected] मा पत्राचार गर्न सकिने सूचनामा जनाइएको छ।
प्रकाशित मिति : August 18, 2026 at 4:57 pm


