सांसद पारसमणिले भनेः मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर, जनता अस्पताल पुग्ने साधन छैन
१ भदाै, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारशमणि गेलालले मन्त्रीहरूको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गेलालले मन्त्रीहरू मन्त्रालयमा बसेर काम गर्नुको साटो प्रचारमुखी भ्रमणमा व्यस्त भएको भन्दै आलोचना गरेका हुन् ।
‘माननीय मन्त्रीज्यूहरूलाई प्रश्न छ, तपाईंहरूलाई देश घुम्ने रहर हो कि, समस्या समाधान गर्ने हुटहुटी ?,’ उनले भने, ‘बिदामा घुम्न गएजस्तो गर्नुभन्दा मन्त्रालयमा बस्नुस् । नीति बनाउनुस्, निर्णय गर्नुस्, कर्मचारीको मनोबल उच्च बनाउनुस् ।’
जनताले आधारभूत सेवा नपाइरहेको अवस्थामा मन्त्रीहरू भने हेलिकप्टर सयर र भिडियो प्रचारमा रमाएको भन्दै उनले टिप्पणी गरे । ‘मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर उपलब्ध हुन्छ । तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन । अस्पतालमा डाक्टर हुँदैनन्’ उनले भने, ‘मन्त्रीहरूका भिडियो र प्रचारले जनतालाई खुसी दिँदैन, सरकारको उपस्थितिको अनुभूति त समस्या समाधानबाट हुनुपर्छ।’
सांसद गेलालले मन्त्रीहरूलाई सल्लाहकारको ‘जम्बो’ टोली राखेर राज्यको ढुकुटी रित्याउनुको साटो सम्बन्धित क्षेत्रका सांसदहरूसँग समन्वय गर्न सुझाव दिए ।
प्रकाशित मिति : August 17, 2026 at 5:16 pm


