१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

३९ प्रतिशतले घट्यो निर्जीवन बीमा क्षेत्रको नाफा, कुनको कति ?

१ भदौ, काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको मुनाफा गत बर्षको तुलनामा गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा भारी गिरावट आएको हाे । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको नाफा करिब ३९.२१ प्रतिशतले घटेकाे हो ।

१४ वटा निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा यी कम्पनीहरूले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूको कुल नाफा ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्ष ११ करोड ७६ लाख रुपैयाँ नोक्सानमा रहेको ओरियन्टल इन्स्योरेन्सले गत आर्थिक बर्षमा सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ । यस कम्पनीले ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 त्यस्तै, नेसनल इन्स्योरेन्स नोक्सानबाट माथि उठ्न सकेको छैन । अघिल्लो वर्ष १५ करोड ७ लाख रुपैयाँ घाटामा रहेको यो कम्पनी आर्थिक वर्ष २०८२/८३ मा पनि १३ करोड १० लाख रुपैयाँ नोक्सानमा छ । समीक्षा अवधिमा १४ मध्ये नेसनल इन्स्योरेन्स मात्र घाटामा रहेको कम्पनी हो ।

 समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सबाहेक नाफामा रहेका सबैजसो कम्पनीको नाफा घटेको छ । समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सकाे नाफा १९.७१ प्रतिशतले बढेर २४ करोड ६४ लाख रुपैयाँ पुगेकाे छ । अघिल्लो वर्ष यस कम्पनीको नाफा २० करोड ५८ लाख रुपैयाँ थियो । अन्य कम्पनीहरूको नाफामा भने १९ देखि ९८ प्रतिशतसम्मको गिरावट देखिएको छ ।

सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सको नाफा ३२.७५ प्रतिशतले घटेर ३७ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ । राष्ट्रिय बीमा कम्पनीको नाफा १९.४६ प्रतिशतले घटेर ३४ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, हिमालयन एभरेस्टले ३३ करोड ७८ लाख, सिद्धार्थ प्रिमियरले ३२ करोड ६८ लाख र नेको इन्स्योरेन्सले २८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यिनीहरूको नाफा क्रमशः ३६.५३ प्रतिशत, ५६.७५ प्रतिशत र ५०.१९ प्रतिशतले घटेको छ ।

प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा घट्नेमा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । अघिल्लो वर्ष ३६ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीको नाफा ९८.८९ प्रतिशतले घटेर ४० लाख ३८ हजार रुपैयाँमा खुम्चिएको छ ।

त्यसैगरी, शिखर इन्स्योरेन्सको नाफा ७१.२२ प्रतिशतले घटेर १३ करोड, सानिमा जिआइसीको ६१.३९ प्रतिशतले घटेर १३ करोड, नेपाल इन्स्योरेन्सको ५९.६९ प्रतिशतले घटेर १२ करोड ७५ लाख, युनाइटेड अजोडको ६४.५५ प्रतिशतले घटेर ६ करोड ३० लाख र एनएलजी इन्स्योरेन्सको नाफा ६२.३१ प्रतिशतले घटेर ५ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ ।

प्रकाशित मिति : August 17, 2026 at 10:36 am