२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

धनुषा डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

२८ साउन, काठमाडाैं । धनुषा डिष्टिलरी लिमिटेडद्वारा सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । सेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

यसै सन्दर्भमा, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा धनुषा डिष्टिलरीको तर्फबाट अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले भविष्यमा जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागिएको हो ।

सन् १९९८ मा स्थापना भएको यस कम्पनीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी गुणस्तरीय मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ९१,८०,००० लिटर रहेको छ । हाल कम्पनीले मुख्य रूपमा प्रिमियम ब्रान्डका मुस्ताङ गोल्ड ह्विस्की र मुस्ताङ भोड्का उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

आगामी दिनमा कम्पनीले थप नयाँ उत्पादनहरू बजारमा ल्याउने तयारी गरेको छ । साथै, उत्पादनको गुणस्तर कायम राख्दै उत्पादनको विविधीकरण र विस्तार गर्ने तथा नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्षम हुने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : August 13, 2026 at 4:03 pm