२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

राष्ट्रिय सहकारी बैंकको पूँजी पर्याप्ततामा ११.६६ प्रतिशतको ऐतिहासिक फड्को

२७ साउन, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार सार्वजनिक गर्दै वित्तीय सुधारको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । विशेषगरी बैंकको पूँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम ८ प्रतिशतको सीमाभन्दा माथि पुग्दै ११.६६ प्रतिशत कायम भएको छ, जुन बैंकको वित्तीय स्थायित्व र जोखिम वहन क्षमतामा आएको उल्लेखनीय सुधारको सूचक हो ।

अघिल्लो त्रैमाससम्म ४.४२ प्रतिशतमा सीमित रहेको पूँजी पर्याप्तता अनुपात छोटो अवधिमै  ११.६६ प्रतिशतमा पुग्नु बैंकका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले बैंकले विगतका चुनौतीपार गर्दै आफ्नो पूँजीआधार मजबुत बनाउने दिशामा उल्लेखनीय प्रगति गरेको देखाउँछ ।

वित्तीय विवरण अनुसार बैंकले चौथो त्रैमाससम्म करिब ४९ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा घाटामा रहेको बैंक चालु वर्षमा नाफामा फर्कन सफल भएको हो। खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा वृद्धि भई ८७ करोड रुपैयाँभन्दा बढी पुगेको छ, जसले बैंकको मुख्य व्यवसायिक गतिविधिमा सुधार आएको संकेत गर्दछ ।

बैंकको सञ्चालन आम्दानी र सञ्चालन नाफामा समेत सकारात्मक वृद्धि देखिएको छ। वित्तीय आधार मजबुत बन्दै जाँदा बैंकको समग्र कार्यसम्पादनमा सुधार देखिएको व्यवस्थापनको भनाइ छ । विगतमा बैंकको प्रमुख चुनौतीका रूपमा रहेको सञ्चित नोक्सानीमा पनि उल्लेखनीय कमी आएको छ। चालु वर्षको नाफाले सञ्चित नोक्सानी घटाउन महत्वपूर्ण योगदान पुर्याएको छ। यद्यपि सञ्चित नोक्सानी पूर्ण रूपमा अन्त्य भइनसकेकाले आगामी अवधिमा समेत नाफा मार्फत त्यसलाई थप घटाउँदै लैजानुपर्ने आवश्यकता रहेको बैंकले जनाएको छ ।

यद्यपि सबै सूचक सकारात्मक दिशातर्फ उन्मुख भएता पनि निष्क्रिय कर्जा अझै बैंकको प्रमुख चुनौतीको रूपमा रहेको छ । चौथो त्रैमाससम्म निष्क्रिय कर्जा अनुपात ३२.२६ प्रतिशत रहेको छ, जुन बैंकिङ मापदण्ड अनुसार अझै उच्च मानिन्छ। यसले कर्जा असुली, जोखिम व्यवस्थापन तथा कर्जा गुणस्तर सुधारलाई आगामी दिनका प्रमुख कार्यसूची बनाउनु पर्ने संकेत गर्दछ ।

बैंकले खराब कर्जा नियन्त्रण, कर्जा असुलीलाई थप प्रभावकारी बनाउने, जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्ने तथा सुशासनलाई संस्थागत रूपमा अझ बलियो बनाउने रणनीति अवलम्बन गरेको जनाएको छ । बैंकका प्रमुखकार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले नाफामा पुनरागमन, सञ्चित नोक्सानीमा आएको कमी तथा पूँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकको न्यूनतम सीमाभन्दा माथि पुर्याउन सफल हुनु संस्थागत सुधार यात्राका महत्वपूर्ण उपलब्धि भएको बताए।

उनले आगामी दिनमा निष्क्रिय कर्जा घटाउने, पूँजीआधार थप सुदृढ बनाउने तथा वित्तीय स्थायित्वलाई दिगो बनाउने कार्यलाई उच्च प्राथमिकता दिइने उल्लेख गरे। हालको वित्तीय विवरणले राष्ट्रिय सहकारी बैंक सुधार र पुनर्संरचनाको चरण पार गर्दै स्थायित्वतर्फ अघि बढिरहेको संकेत गरेको छ । यद्यपि बैंकको दीर्घकालीन सफलताका लागि निष्क्रिय कर्जा नियन्त्रण, सञ्चित नोक्सानीको पूर्ण व्यवस्थापन तथा संस्थागत सुशासनलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता भने कायमै रहेको देखिन्छ ।

प्रकाशित मिति : August 12, 2026 at 1:16 pm