सेयर बजार सुधारका लागि सेबोनलाई छोटेलाल रौनियारको १५ बुँदे सुझाव
२६ साउन, काठमाडाैं । नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष तथा दिग्गज लगानीकर्ता छोटेलाल रौनियारले नेपालको पूँजी बजार सुदृढीकरणका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष १५ बुँदे सुझाव पेश गरेका छन्। सोमबार रौनियारले सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई भेटेर बजारको दीर्घकालीन सुधार र लगानीकर्ताको हितका लागि ती सुझावहरू बुझाएका हुन्।
रौनियारले नेपाली सेयर बजारमा तत्काल आवश्यक देखिएका नीतिगत, प्राविधिक तथा संरचनागत सुधार गर्न आग्रह गरेका छन्। उनले पुँजीगत लाभकर घटाउने, सेयर कारोबारमा लाग्ने दोहोरो कमिसन हटाउने, बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज रूपमा कारोबार गर्न दिने लगायतका विषयलाई प्राथमिकता दिइएका छन् ।

यस्ता छन् १५ बुँदे सुझावः
१. बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा निर्वाध रूपमा सेयर खरिद–बिक्री गर्न पाउने व्यवस्था गर्नुपर्ने र हाल कायम रहेको ६ महिनाको प्रतिबन्ध तत्काल हटाउनुपर्ने
२. पूँजीगत लाभकर दीर्घकालीनका लागि ४ प्रतिशत र अल्पकालीनका लागि ६.५ प्रतिशत कायम गरिनुपर्ने।
३. धितोपत्र बजारमा लाग्ने सबै प्रकारका शुल्कहरू (सेबोन, नेप्से, सिडिएससी र ब्रोकर) परिमार्जन गरी दोहोरो कमिसन प्रणाली हटाएर एकतर्फी कमिसनको व्यवस्था गर्नुपर्ने।
४. कारोबार प्रणालीमा आदेश खण्डीकरण हुँदा लाग्ने उच्चतम कमिसनको समस्या समाधान गरी दिनभरको कुल कारोबारलाई आधार मानी एकमुष्ट कमिसन तिर्ने व्यवस्था गर्नुपर्ने।
५. फ्युचर एण्ड अप्सन, इन्ट्रा-डे, सर्ट सेल र इटीएफ (ETF) जस्ता औजारहरू ल्याउँदा साना तथा घरेलु लगानीकर्तालाई सुरक्षित गर्ने पूर्वाधार तयार गर्नुपर्ने।
६. कम्पनीले कर तिरिसकेपछि वितरण गर्ने बोनस तथा नगद लाभांशमा लाग्ने थप ५ प्रतिशत दोहोरो कर खारेज गर्नुपर्ने।
७. आर्थिक वर्ष समाप्त भएको बढीमा २ महिनाभित्र साधारण सभा (AGM) गरी त्यसको १ महिनाभित्र लाभांश खातामा पठाउने व्यवस्था हुनुपर्ने।
८. प्रत्येक वर्ष डिम्याट खाता (Demat Account) नवीकरण गर्नुपर्ने झन्झटिलो व्यवस्था हटाई लगानीकर्तालाई राहत दिनुपर्ने।
९. ७० प्रतिशत मार्जिन लेन्डिङमा शेयर धितो राखिसकेको अवस्थामा बोनस र नगद लाभांशलाई फेरि ‘फ्रिज’ गर्ने अनावश्यक प्रक्रिया बोर्डबाटै हटाउनुपर्ने।
१०. हालको टिएमएस (TMS) प्रणालीमा सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने र एनआरएन (NRN) तथा एफडिआई (FDI) का लागि सहज ‘पेमेन्ट गेटवे’ को व्यवस्था गर्नुपर्ने।
११. नेप्सेलाई यथाशीघ्र आधुनिकीकरण गरी पब्लिक कम्पनीमा रूपान्तरण गर्नुपर्ने।
१२. आईपीओ (IPO) मा १० कित्ते नीतिलाई निरन्तरता दिनुपर्ने।
१३. गैर आवासीय नेपाली (NRN) लाई लगानी र नाफा लैजान सहज हुने गरी कानूनी अड्चन हटाई पारदर्शी व्यवस्था गर्नुपर्ने।
१४. नेपाल धितोपत्र बोर्डलाई पूर्ण स्वायत्तता र आवश्यक अधिकार प्रदान गरी आधुनिक नियामक संस्थाको रूपमा विकास गर्नुपर्ने।
१५. बजारमा अनावश्यक हल्ला फैलाउने र बजार प्रभावित गर्नेलाई नियन्त्रण गर्न सेबोन र नेप्सेले प्रत्यक्ष निगरानी गर्ने कक्ष बनाउनुपर्ने र साइबर अपराध सम्बन्धी कडा नियम बनाउनुपर्ने।
रौनियारले पुँजी बजारको विकासका लागि नीतिगत स्थिरता, आधुनिक प्रविधि, प्रभावकारी नियमन र लगानीमैत्री वातावरण आवश्यक रहेको उल्लेख गर्दै यी सुधारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति : August 11, 2026 at 12:12 pm



