२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

तीन सहकारीका २२० बचतकर्ताले पाए बचत रकम

२५ साउन, काठमाडाैं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन वटा समस्याग्रस्त सहकारीका २२० जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका १६५ जना, कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका ३ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम नै सम्बन्धित पीडित बचतकर्तालाई फिर्ता गर्ने व्यवस्था गरेको छ।

समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको हो। आगामी चरणमा पनि बचत रकमका आधारमा बचतकर्ताको वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिनेछ।

समितिले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनबमोजिम बचत फिर्ता गर्ने कार्य निरन्तर भइरहेको जनाएको छ।

प्रकाशित मिति : August 10, 2026 at 6:27 pm