निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार होः अर्थमन्त्री वाग्ले
२५ साउन, काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीको वातावरण निर्माण गर्दै निजी क्षेत्रलाई थप लगानी, उद्योग विस्तार र नयाँ रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्। मुलुकका २० वटा ठूला वैदेशिक तथा स्वदेशी लगानी रहेका कम्पनीका प्रमुखहरूसँग सोमबार छलफल गर्दै अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई आर्थिक विकासको साझेदारका रूपमा हेर्ने बताएका हुन्।
सरकार र निजी क्षेत्रबीचको यो संवाद औपचारिक भेटघाट मात्र नभएर नयाँ विश्वास र सहकार्यको सुरुवात भएको उल्लेख गर्दै उनले अर्थतन्त्रको रूपान्तरणका लागि दुवै पक्षले सँगसँगै नेतृत्व गर्नुपर्नेमा जोड दिए ।
उनले नेपालको आर्थिक रूपान्तरण सरकार वा कुनै एक मन्त्रालयको प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकार र निजी क्षेत्रले संयुक्त रूपमा यसको नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरे।
‘निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार हो,’ अर्थमन्त्री वाग्लेले भने। उनका अनुसार सरकारको प्राथमिकता अब केवल कर संकलन बढाउनेमा सीमित नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनेतर्फ केन्द्रित हुनुपर्छ।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए । उनले अबको सरकारी प्राथमिकता केवल कर संकलनमा मात्र सीमित नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु रहेको उल्लेख गरे । उद्योगले कमाएको नाफा पुनःलगानी हुँदा त्यसले उत्पादन, रोजगारी र बजार विस्तार गर्ने र अन्ततः राज्यको राजस्व पनि बढ्ने हुँदा सरकार र निजी क्षेत्रको सम्बन्ध ‘शून्य-योग’ नभई दुवैको सफलता एकअर्कामा जोडिएको उनको तर्क थियो ।
लगानीकर्तामा विश्वास जगाउन नियमको स्थिरता र कर प्रणालीको पूर्वानुमेयता अनिवार्य रहेको बताउँदै मन्त्री वाग्लेले उद्यमीहरूलाई ढुक्क भएर थप लगानी गर्न, उद्योग विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गरे । उनले व्यवसायीहरूसँग कर प्रशासन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार र कानुनी व्यवस्थामा रहेका मुख्य अवरोधहरूका बारेमा जानकारी मागेका थिए ।
साथै, आगामी छ महिनाभित्र सरकारले गर्नुपर्ने महत्वपूर्ण पाँच निर्णय पहिचान गर्नसमेत उनले व्यवसायीलाई आग्रह गरे। छलफलबाट उठेका विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने उनले बताए। अर्थ मन्त्रालयले निरन्तर अनुगमन गर्ने र समस्या समाधान नभएसम्म निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने उनको प्रतिबद्धता थियो।
अर्थमन्त्री वाग्लेले करदातालाई केवल राजस्वको स्रोतका रूपमा नभई राष्ट्र निर्माणका साझेदारका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिए। नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउन सरकारले काम गरिरहेको उनले बताए।
प्रकाशित मिति : August 10, 2026 at 3:02 pm



