नेरुडे मिर्मिरे लघुवित्त २३ करोड ५९ लाख नाफामा, वितरणयोग्य मुनाफा भने ऋणात्मक
२५ साउन, काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्तयसम्ममा कम्पनीले २३ करोड ५९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्था १८ करोड २५ लाख घाटामा थियो ।
संस्थाको खुद ब्याज आम्दानी भने १ अर्ब ४४ करोडबाट घटेर १ अर्ब २९ करोडमा सीमित बनेको छ । इम्पेयरमेन्ट चार्ज पनि ९४ करोड २३ लाखबाट घटेर १४ करोड ८१ लाखमा झरेको छ । संस्थाको वितरणयोग्य मुनाफा भने १२ करोड १९ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने लाभांश क्षमता पनि ८.७२ प्रतिशतले ऋणात्मक अवस्थामा छ ।
अघिल्लो आवमा ३१.६४ प्रतिशत रहेको निष्कृय कर्जा घटेर १९.८६ प्रतिशतमा झरेको छ । अघिल्लो आवसम्म ६ अर्ब ४५ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने ७ अर्ब ६९ करोड रुपैयाँबराबरको निक्षेप संकलन गर्न सफल भएको छ ।
संस्थाले १९ अर्ब ३२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १९ अर्ब ५१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो । रिटेन्ड अर्निङ १२ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको संस्थाको रिजर्भ कोषमा १ अर्ब ३३ करोड सञ्चित छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१६.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८६.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.६९ गुणा रहेकाे छ ।
प्रकाशित मिति : August 10, 2026 at 9:16 am



