२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

व्यवसाय सुरु गर्नेदेखि विस्तारसम्म सघाउन एफएनसीसीआईको ‘एसएमई हेल्प डेस्क’ सञ्चालनमा

२४ साउन, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले व्यवसाय सुरु गर्ने सोचमा रहेका तथा सञ्चालनमा रहेको व्यवसायलाई थप विस्तार गर्न चाहने उद्यमीलाई आवश्यक सूचना, परामर्श र सहजीकरण उपलब्ध गराउने उद्देश्यले ‘एसएमई हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ।

नयाँ उद्यमी, घरेलु तथा साना–मझौला उद्योग, सहकारी तथा सामाजिक उद्यमसँगै विशेषगरी युवा तथा महिला उद्यमीलाई लक्षित गर्दै हेल्प डेस्क स्थापना गरिएको एफएनसीसीआईले जनाएको छ ।

व्यवसाय सुरु गर्ने क्रममा आवश्यक पर्ने दर्ता तथा कानुनी प्रक्रियादेखि वित्तीय पहुँच, बजार विस्तार, निर्यात तथा क्षमता विकाससम्मका विषयमा उद्यमीले एउटै स्थानबाट आवश्यक जानकारी तथा परामर्श लिन सकिने एफएनसीसीआईले जनाएको छ।

व्यवसायसम्बन्धी विभिन्न जिज्ञासा र समस्याको समाधानका लागि सम्बन्धित निकाय तथा विज्ञसँगको सहजीकरणमा समेत हेल्प डेस्कले सहयोग गर्नेछ। यसले व्यवसाय सुरु गर्ने तयारीमा रहेका नयाँ उद्यमीलाई प्रक्रियागत जानकारी उपलब्ध गराउनुका साथै सञ्चालनमा रहेका साना तथा मझौला व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन आवश्यक सहयोग पुर्‍याउने अपेक्षा गरिएको एफएनसीसीआईले जनाएको छ।

नेपालमा रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक गतिविधिमा साना तथा मझौला उद्यमको महत्वपूर्ण भूमिका रहे पनि व्यवसाय दर्ता, कानुनी प्रक्रिया, वित्तीय स्रोतमा पहुँच, बजार खोजी, निर्यात तथा आवश्यक सीप र सूचनाको अभावजस्ता समस्या उद्यमीले भोग्दै आएका छन्। यस्ता समस्यालाई सम्बोधन गर्न हेल्प डेस्क उपयोगी हुने एफएनसीसीआईको विश्वास छ।

हेल्प डेस्कमार्फत उद्यमीले व्यवसाय दर्ता तथा कानुनी प्रक्रिया, वित्तीय पहुँच, बजार तथा निर्यात, क्षमता विकासलगायतका विषयमा आफ्नो जिज्ञासा राख्न र आवश्यक सल्लाह लिन सक्नेछन्।

एफएनसीसीआईले उद्यमीलाई हेल्प डेस्कमा प्रत्यक्ष उपस्थित भएर सेवा लिन तथा फोन, इमेल र सामाजिक सञ्जालमार्फत समेत आफ्ना जिज्ञासा पठाउन आग्रह गरेको छ।

को-को हुनसक्छन् लाभान्वित ?

– लघु, घरेलु, साना तथा मझौला उद्योगीस् आफ्नो व्यवसायलाई परिमार्जन र विस्तार गर्न चाहने व्यवसायीहरू।

– नवीनतम उद्यम ९स्टार्टअप०स् नयाँ अवधारणा र प्रविधिमा आधारित भई भर्खरै उद्यम सुरु गर्न लागेका नवप्रवर्तनशील उद्यमीहरू।

– सहकारी तथा सामाजिक उद्यमस् समुदायमा आधारित व्यवसाय र सामाजिक हितका लागि सञ्चालित संस्थाहरू।

– सहायता कक्षबाट सेवा लिने क्रममा युवा तथा महिला उद्यमीहरूलाई विशेष प्राथमिकता दिइने एफएनसीसीआईले जनाएको छ ।

प्रमुख परामर्श तथा सूचना सेवाहरूः

१. दर्ता र अनुपालन: व्यवसाय दर्ता गर्ने तरिका, दर्ता प्रक्रियामा चाहिने कागजात, कानुनी प्रावधान र राज्यका नियम-पालनासम्बन्धी सम्पूर्ण जानकारी र परामर्श।
२. व्यावसायिक परामर्श: व्यवसाय कसरी सुरु गर्ने, बजारमा कसरी टिकिरहने र दिगो व्यवस्थापन कसरी गर्ने भन्नेबारे विज्ञहरूबाट प्रत्यक्ष मार्गदर्शन।
३. बजार पहुँच: आफूले उत्पादन गरेका वस्तु तथा सेवालाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कसरी पुर्‍याउने र बजारीकरण कसरी गर्ने भन्ने सहजीकरण।
४. वित्तीय पहुँच: बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्ने प्रक्रिया, वित्तीय स्रोतको खोजी र पुँजी व्यवस्थापनका लागि सहयोग।
५. क्षमता अभिवृद्धि: उद्यमीहरूको व्यावसायिक दक्षता, कार्यकुशलता र उत्पादकत्व बढाउन विभिन्न तालिम तथा ज्ञानमूलक कार्यक्रमहरूको आयोजना।
६. कार्यक्रम तथा व्यावसायिक सम्पर्क: उद्यमीहरूलाई सम्बन्धित सरकारी निकाय, विषयगत संघसंस्था तथा सेवा प्रदायकहरूसँग जोड्नका लागि सिफारिस र सञ्जाल विस्तारको कार्य।

सम्पर्क र सेवा लिने समयः

व्यवसायसम्बन्धी कुनै पनि समस्या, जिज्ञासा वा परामर्श आवश्यक परेमा महासंघको सहायता कक्षमा सोझै उपस्थित भई वा टेलिफोन र इमेलमार्फत सम्पर्क गर्न सकिनेछ।

कार्यालय रहेको ठेगानाः पचली शहीद शुक्र एफएनसीसीआई मिलन मार्ग, टेकु, काठमाडौँ

कार्यालय खुल्ने समयः आइतबारदेखि शुक्रबारसम्म, बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म

मोबाइल नम्बरः ९८०११९२५७०

इमेलः [email protected]

प्रकाशित मिति : August 9, 2026 at 5:26 pm