२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राख्न रास्वपा सांसद ढकालको सुझाव

२४ साउन, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिसमेत रहेका ढकालले आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा राजनीतिक परिवर्तन भए पनि त्यसअनुसार प्रशासनिक केन्द्रको नाम र संरचनामा परिवर्तन हुन नसकेको टिप्पणी गरेका हुन् ।

उनले राजनीतिक व्यवस्था परिवर्तनका क्रममा विभिन्न स्थान तथा विमानस्थलहरूको नाम परिवर्तन गरिएको उल्लेख गर्दै सिंहदरबारको नाम भने अहिलेसम्म कायमै रहेकोप्रति प्रश्न उठाए ।

ढकालले सिंहदरबार नाम आफैंमा अहिलेको नेपालको सन्दर्भमा उपयुक्त नरहेको तर्क गरे । नेपालमा सिंह नै नरहेको अवस्थामा प्रशासनिक केन्द्रलाई ‘सिंहदरबार’ भनिरहनुको औचित्यमाथि उनले प्रश्न उठाएका हुन् ।

उनले सिंहदरबारको सट्टा ‘अनामनगर दरबार’ नाम राख्न सकिने सुझावसमेत दिए ।

राजनीतिक परिवर्तन भए पनि शासन सञ्चालनको शैलीमा भने पुरानै अभ्यास कायम रहेको ढकालको भनाइ थियो । नयाँ राजनीतिक व्यवस्थाअनुसार प्रशासनिक केन्द्रको संरचना, कार्यशैली र भाषामा समेत परिवर्तन आवश्यक रहेको उनले बताए ।

ढकालले राजनीतिक परिवर्तनलाई सत्ता र व्यक्तिको परिवर्तनका रूपमा नभई राज्य सञ्चालनको शैली र सोचमा समेत प्रतिबिम्बित गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : August 9, 2026 at 2:06 pm