रमेश प्रसाईंको प्रश्नः प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ कि छैन ?
२२ साउन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको आलोचना गरेका छन् । आज सदनमा बोल्दै उनले चुनावका बेला आफूहरूले नो लाइन, अनलाइन भनेर गरेको भाषण सम्झिएर लाज लागेको बताए ।
‘कहिलेकाहीँ म कन्फ्युज हुन्छु । मेरै गालामा मेरै चड्कन । मैले चुनावमा गरेका भाषणहरू सम्झिँदा जहाँ हामीले सरकारी कार्यालयहरूमा नो लाइन, रास्वपाको पालामा वान्ली अनलाइन भनेर आफैँले गरेको भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरी, रातभरि, मध्यरातसम्म लाइन बसेका दृष्यले मलाई त साँच्चिकै लाज लागेको छ,’ उनले भने ।

ग्यासको अभाव देशैभरी रहेको भन्दै उनले सोधे, ‘मेरो प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ कि छैन ?’ यदि कृत्रिम अभाव सिर्जना भएको हो भने किन कारबाही नगरेको भन्ने उनको प्रश्न छ । ‘ग्यास ह्वारह्वारर्ती आएर पनि कालोबजारी भएको हो भने ति कालोबजारी गर्नेलाई कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाइको सरकारलाई ?’ उनको प्रश्न छ ।
प्रकाशित मिति : August 7, 2026 at 4:32 pm



