प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग
२२ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सहभागी गराउन सभामुख डोल प्रसाद अर्यालले रुलिङ गर्नुपर्ने माग राखेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै नेकपामा प्रमुख सचेतक युवराज दुलालले यस्तो माग राखेका हुन् ।
सम्माननीय प्रधानमन्त्रीज्यू, यो संसद्को सबैभन्दा ठूलो नेता बालेन्द्र शाहलाई हाम्रो नियमावलीअनुसार सांसदहरूको प्रश्नउत्तर कार्यक्रममा पनि सहभागी हुनको लािग र गराउनको लागि उहाँलाई रुलिङ गर्न सभामुखमार्फत आह्वान गर्न चाहन्छु’ उनले भने । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी स्पष्ट व्यवस्था छ।
नियमावलीअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले प्रश्न सोध्न पाउने गरी सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्नुपर्ने हुन्छ।

नियम ५६ मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ।’
‘सभामुखले गर्नेछ’ भनेर राखिएको यो बाध्यकारी व्यवस्था हो । केही गरी तय भएको दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसके लगत्तै बस्ने बैठकमा गर्नुपर्ने भनिएको छ ।
नियम ५६ को उपनियम १ मा अगाडि भनिएको छ, ‘तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ ।’ तर, नियमावलीले नियमित रूपमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्नुपर्ने व्यवस्था गरे पनि त्यसको कार्यान्वयन हुन नसकेको भन्दै पछिल्लो समय सांसदहरूले सदनमै प्रश्न उठाउन थालेका छन्।
प्रकाशित मिति : August 7, 2026 at 2:41 pm



