२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को टिजर र पोस्टर सार्वजनिकः उमेर र सीमालाई चुनौती दिँदै सगरमाथाको चुचुरोसम्मको यात्रा

२२ साउन, काठमाडौं । समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको जोखिमपूर्ण र रोमाञ्चक यात्रा समेटिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को फर्स्ट लुक पोस्टर तथा अफिसियल टिजर बाहिरिएको छ। ५० वर्ष उमेर नाघेका एक व्यक्तिले आफ्नै शारीरिक सीमितता र उमेरलाई चुनौती दिँदै देखेको आरोहणको अदम्य सपनालाई यस डकुमेन्ट्रीले पर्दामा उतारेको छ।

केवल हिमालको सौन्दर्य र भव्यता मात्र नभई यो ५० मिनेट लामो वृत्तचित्रले आरोहणका क्रममा आइपर्ने प्राणघातक जोखिम, शेर्पा समुदायको अथक पसिना र जलवायु परिवर्तनले हिमाली पर्यावरणमा पारेको गहिरो असरलाई पनि मिहीन ढङ्गले छामेको छ। शतप्रतिशत नेपाली प्राविधिकहरूको सीप प्रयोग गरिएको यो प्रोजेक्टमा कुनै पनि कृत्रिम (आर्टिफिसियल) दृश्य समावेश नगरिएको निर्माण पक्षको दाबी छ। समुद्री सतहबाट सुरु भएर चुचुरोसम्म पुग्ने यथार्थपरक यात्रा समेट्ने सगरमाथा सम्बन्धी यो नै पहिलो वृत्तचित्र भएको उनीहरूको भनाइ छ।

सामाजिक संस्था ‘वि विल राईज फाउण्डेसन’ ले निर्माण गरेको यो डकुमेन्ट्री निर्मल श्रेष्ठले निर्देशन गरेका हुन्। दुई वर्ष लामो अनुसन्धान र छायांकनपछि तयार भएको प्रोजेक्टको कथा निर्देशक श्रेष्ठ र सञ्चारकर्मी सन्तोष आचार्यले संयुक्त रूपमा लेखेका हुन्। यसमा वरिष्ठ सञ्चारकर्मी भुषण दाहालको दमदार भ्वाइसओभर सुन्न पाइन्छ।

पर्दामा १८ पटक सगरमाथा चढेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र विश्वका १४ वटै अग्ला हिमशिखरसहित १० पटक सगरमाथाको सफल आरोहण गरेका निमा ग्याल्जेन शेर्पाको सङ्घर्ष देखिनेछ। यो प्रेरणादायी यात्राका महत्त्वपूर्ण पात्रका रूपमा विनोद गुरुङ, सुरज गुरुङ र स्वयम् निर्देशक श्रेष्ठ पनि प्रस्तुत छन्।

अंग्रेजी र नेपाली दुवै भाषामा तयार पारिएको ‘रोड टु एभरेस्ट’ ले नेपालको पर्यटन प्रवर्द्धनमा विश्वव्यापी रूपमा सघाउने लक्ष्य राखेको छ। यसको पहिलो नेपाल प्रिमियर आगामी भदौ ६ गते (२२ अगस्ट २०२६) काठमाडौंमा आयोजना हुँदैछ। त्यसपछि भदौ २८ गते (१३ सेप्टेम्बर २०२६) हङकङमा अन्तर्राष्ट्रिय प्रिमियर गरिनेछ। लगत्तै स्वदेश तथा विदेशका विभिन्न सिनेमा हल र अन्तर्राष्ट्रिय मञ्चहरूमा वृत्तचित्र प्रदर्शन गर्ने तयारी भइरहेको छ।

सार्वजनिक टिजर र पोस्टरले भावनात्मक, जोखिमयुक्त हिमाल यात्रा र मानव साहसको जीवन्त झलक पेस गर्दै दर्शकमाझ कौतूहल बढाएको छ। सगरमाथालाई एउटा हिमाल मात्र नमानेर साहस र अठोटको प्रतीकका रूपमा चिनाउने यसको मूल ध्येय हो।

प्रकाशित मिति : August 7, 2026 at 2:09 pm