अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
२२ साउन, काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ३१ दिनको लागि निक्षेप संकलन गर्ने प्रक्रिया अघि बढाएको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार निक्षेप संकलनका लागि आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणाली मार्फत बोलकबोल गर्न सकिनेछ। निक्षेपको निष्कासन आजै हुनेछ भने यसमा लागू हुने ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलका आधारमा तय गरिनेछ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको सीमाभित्र रहेर आवेदन दिन सकिने व्यवस्था गरिएको छ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि भदौ २२ गतेलाई तोकिएको छ।
राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र यस बोलकबोल प्रक्रियामा भाग लिन पाउनेछन्। केन्द्रीय बैंकले बजारमा रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्दै मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि समय–समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यस्तो व्यवस्थामार्फत बैंकिङ प्रणालीमा रहेको बढी तरलता प्रशोचन गर्ने राष्ट्र बैंकको उद्देश्य रहेको छ।
प्रकाशित मिति : August 7, 2026 at 12:10 pm



