सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन
२२ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई आर्थिक वर्ष २०८३/८४ को वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गर्दै सूचना जारी गरेको छ। धितोपत्र सूचीकरण नियमावली, २०७५ को व्यवस्था बमोजिम सूचीकृत कम्पनीहरूले आगामी असोज मसान्तभित्र यस्तो शुल्क बुझाइसक्नु पर्ने नेप्सेले जनाएको छ।
नेप्सेले आज एक सूचना प्रकाशित गर्दै समयमै शुल्क नबुझाउने कम्पनीहरूको धितोपत्र सूचीकरण स्थगन हुन सक्ने चेतावनी समेत दिएको छ। नेप्सेले चुक्ता पूँजीका आधारमा नवीकरण शुल्क निर्धारण गरेको छ, जसअनुसार साधारण सेयरतर्फ रु. ५० करोडसम्म चुक्ता पूँजी भएका कम्पनीहरूले रु. ५०,००० र रु. ५० करोडभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीहरूले रु. १,००,००० वार्षिक शुल्क बुझाउनुपर्नेछ। त्यसैगरी डिबेन्चर तथा म्युचुअल फण्डको हकमा ५० करोडसम्म कोष वा चुक्ता पूँजी भएकाका लागि रु. २५,००० र रु. ५० करोडभन्दा बढी भएकाका लागि रु. ५०,००० नवीकरण शुल्क तोकिएको छ।

तोकिएको नवीकरण शुल्क ग्लोबल आईएमई बैंक लिमिटेड, कमलादीमा रहेको नेप्सेको खाता नं. ०७५०१०१००००७७५ मा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। कम्पनीहरूले रकम जम्मा गरेको बैंक भौचर नेप्सेमा पठाउनु पर्ने छ ।
साथै, तोकिएको अवभिभित्र नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने नेप्सेले स्पष्ट पारेको छ। साथै, धितोपत्र सूचीकरण नियमावली बमोजिम त्यस्ता कम्पनीहरूको सूचीकरण प्रक्रिया नै स्थगन गर्न सकिने प्रावधान रहेको तर्फ समेत नेप्सेले ध्यानाकर्षण गराएको छ।
प्रकाशित मिति : August 7, 2026 at 11:43 am



