तँ राप्रपाको सांसद किन्न सक्छस् ? भन्ने ओलीको प्रश्नले ढलेका थपलिया अस्पतालमा
१९ साउन, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री चयनलाई लिएर नेकपा एमालेभित्र चुलिएको शक्ति संघर्ष सोमबार राति गुन्डुमा आयोजित बैठकमा चरम बिन्दुमा पुगेको छ। बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओली र बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाबीच चर्काचर्की भएपछि थपलिया अस्वस्थ भएर बैठकमै ढल्न पुगे । अहिले थपलिया नागरिक हुँदै वीर अस्पतालमा भर्ना भएका छन ।
बैठकमा सहभागी एक नेताका अनुसार घटनाको सुरुआत थपलियाको नेतृत्व क्षमतामाथि प्रश्न उठाइएपछि भएको थियो । केही प्रदेशसभा सदस्यले राप्रपासहित आवश्यक समर्थन जुटाउन नसक्ने भन्दै थपलियाको आलोचना गरेका थिए । त्यसपछि अध्यक्ष ओलीले थपलियालाई लक्षित गर्दै “तँ राप्रपाको सांसद किन्न सक्छस् ?” भन्ने आशयको प्रश्न गरेको ती प्रत्यक्षदर्शी नेताको भनाइ छ ।
स्रोतका अनुसार ओलीले मात्र होइन त्यहाँ उपस्थित भएका धेरैले थपलियाको अपमान गर्दै दूर्व्यवहार नै गरेका थिए । यद्यपी थपलियाले भने आफूलाई गम्भीर अपमान गरिएको महसुस गर्दै प्रतिवाद गरेका थिए । उनले मुख्यमन्त्री बनाउन आवश्यक बहुमत जुटाउने जिम्मेवारी व्यक्तिगत नभई पार्टी नेतृत्वको समेत हुने बताएका थिए । केहीबेरमै उनको रक्तचाप असामान्य रूपमा बढेको र उनी बैठकमै बेहोस भएर ढलेका थिए । ढल्ने बित्तिकै ओलीले थपलियालाई तत्काल तत्काल घरबाहिर निकाल्न लगाएका थिए ।
बैठकमा उपस्थित दावा दोर्जे लामा र केशव पोखरेलले उनलाई तत्काल अस्पताल पुर्याएका थिए । एमाले बागमती प्रदेशका उपाध्यक्ष जो थपलियाका सम्धी समेत हुन । भक्तपुरकै अस्पतालमा सामान्य उपचारपछि अहिले उनी थप उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन ।

घटनाअघि नै बागमती प्रदेशमा नेतृत्व परिवर्तनको प्रयास तीव्र बनेको थियो। एमाले सचिव तथा बागमती इन्चार्ज महेश बस्नेतले प्रदेशसभा सदस्य किरण थापालाई संसदीय दलको नेता र त्यसपछि मुख्यमन्त्री बनाउने गरी तयारी गरिरहेको आरोप पार्टीभित्रकै नेताहरूले लगाएका छन् । यसका लागि एमालेका केही सांसदको हस्ताक्षर संकलन गरिएको र राप्रपाका केही सांसदको समर्थनसमेत जुटाइएको दाबी गरिएको छ ।
यद्यपि महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसदीय दलको नेतृत्व परिवर्तनको प्रयासप्रति असहमति जनाउँदै अध्यक्ष ओलीलाई पुरानै निर्णय कार्यान्वयन गर्न आग्रह गरेका थिए । त्यसपछि केही समयका लागि थपलियालाई नै मुख्यमन्त्री बनाउने सहमति बनेको देखिए पनि समानान्तर रूपमा नेतृत्व परिवर्तनको पहल भने रोकिएन ।
बैठकमा सहभागी एक नेताका अनुसार ओली पनि थापाकै पक्षमा रहेका छन । उनी अहिले बसेको भाडाको घरको व्यवस्थापनदेखि नयाँ बन्ने ओली कुटीसम्मका मुख्य लगानीकर्ता उनै थापा हुन । जसका कारण ओलीले थापाका लागि जे पनि गर्नेछन ।
सोमबारको बैठकमा किरण थापाको पक्षमा उभिएका सांसदहरूले थपलियाले आवश्यक बहुमत ल्याउन नसक्ने दाबी गर्दै तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए। राति अबेरसम्म चलेको बैठकमा अध्यक्ष ओलीले जसले राप्रपासहित आवश्यक बहुमत जुटाउन सक्छ, उसैलाई मुख्यमन्त्रीको दाबेदार बनाइने निष्कर्ष समेत सुनाएका थिए ।
प्रकाशित मिति : August 5, 2026 at 6:40 am



