१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

वाणिज्य बैंकका सीईओहरुसँग अर्थमन्त्रीको वाग्लेले के भने ?

१९ साउन, काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफल गरेका छन् । मंगलबार सिंहदरबारमा उनले  वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गरेका हुन् ।

छलफलमा अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनस्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ट सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको बताए ।

वाणिज्य बैंकहरू अर्थतन्त्रका सबैभन्दा महत्वपूर्ण संगम रहेको उल्लेख गर्दै उनले बचतकर्ता, उद्यमी, किसान, उद्योगी, लगानीकर्ता र नयाँ व्यवसायी सबैको केन्द्रमा बैंकिङ प्रणाली रहने भएकाले बजारको वास्तविक मनोविज्ञान र अपेक्षा उनीहरूले नै महसुस गर्ने बताए ।

बजेटमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिसकिएको र अबको मुख्य ध्यान कार्यान्वयनमा रहेको अर्थमन्त्रीको वाग्लेको भनाइ थियो ।

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानी बढाउने, उत्पादन विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने साझा लक्ष्य पूरा गर्न सरकारले नियामकीय, कानुनी र संस्थागत सुधारका प्रक्रियाहरू अगाडि बढाइरहेको उनले जानकारी दिए ।

छलफलका क्रममा अर्थमन्त्रीले वर्तमान आर्थिक परिदृश्यका केही विरोधाभासपूर्ण अवस्थाप्रति चासो व्यक्त गरे । यस्ता संरचनागत समस्या समाधानका लागि मौद्रिक नीति, नियमन र सुपरीवेक्षणमा नयाँ दृष्टिकोण आवश्यक रहेको उनले औँल्याए ।

उनले भने, ‘कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्युन हुँदा र बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा पनि कर्जाको माग बढ्न नसक्नु र लगानी विस्तारमा व्यवसायीहरू हिचकिचाउनु चिन्ताको विषय हो । सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध केवल नियामक र नियमित निकायको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो । आर्थिक वृद्धि, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रा साझा उद्देश्य हुन् । जहाँ कानूनी र प्रक्रियागत सुधार आवश्यक छ, त्यहाँ सरकार निर्णय लिन पछि हट्ने छैन ।’

प्रकाशित मिति : August 4, 2026 at 6:22 pm