शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा १ अर्ब १८ करोड, प्रतिसेयर आम्दानी कति ?
१९ साउन, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सो अवधिको खुद नाफा ६४ करोड ५६ लाख रुपैयाँको तुलनामा ८२.९६ प्रतिशतको वृद्धि हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँबाट बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) ९५ करोड ४ लाख रुपैयाँबाट घटेर २० करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ९१ करोड ११ लाख रुपैयाँबाट बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। बैंकको निष्कृय कर्जा भने ४.२७ प्रतिशतबाट बढेर ४.९३ प्रतिशत पुगेको छ । गत असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा ८४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। यस्तै लाभांश क्षमता पनि १३.७१ प्रतिशतबाट बढेर १६.८६ प्रतिशत पुगेको छ ।
बैंकको चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ पुगेको छ भने सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल कोष २ अर्ब ९८ करोड ७३ लाख रुपैयाँ पुगेको छ। बैंकको निक्षेप संकलन ७७ अर्ब ८५ करोड र कर्जा परिचालन ६३ अर्ब २६ करोड पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २३.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.४८ र मूल्य आम्दानी अनुपात १७.६४ गुणा रहेकाे छ ।
प्रकाशित मिति : August 4, 2026 at 9:32 am



