१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

जीवन बीमकको बीमाशुल्क २३ प्रतिशतले बढ्यो, कुनको कति ?

१८ साउन,  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूको नयाँ व्यापारमा  उल्लेख्य सुधार आएकाे छ ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले एक वर्षमा ४९ अर्ब ४० करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

अघिल्लो आव २०८१/८२ मा कम्पनीहरूले ४० अर्ब १७ करोड ६० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलनामा कम्पनीहरूको प्रथम बीमाशुल्क आर्जन २२.९७ प्रतिशतले बढेको हो ।

१ वर्षको अवधिमा सबैभन्दा धेरै नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले याे अवधिमा १३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २४.६२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले १० अर्ब ४९ करोड ५१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक वर्षको अवधिमा ६ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ८४ करोड ९३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नयाँ व्यापार १८.७३ प्रतिशतले बढेको छ ।

तेस्रोमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक वर्षमा ३ अर्ब ७४ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३ अर्ब ६ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो ।

 त्यसैगरी, १ वर्षमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) ले ३ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब १० करोड ७७ लाख रुपैयाँ, हिमालयन लाइफले २ अर्ब ९३ करोड २६ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ, एसियन लाइफले २ अर्ब ७१ करोड ० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले २ अर्ब २७ करोड ३८ लाख रुपैयाँ नयाँ बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ अर्ब १५ करोड २० लाख रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले १ अर्ब ६४ करोड ११ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ३७ करोड ६ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ७९ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

प्रकाशित मिति : August 3, 2026 at 4:44 pm