१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

हिमालयन लघुवित्तको खुद नाफा ४९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

१८ साउन, काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४९.१८ प्रतिशतले बढी हाे । अघिल्लो आर्थिक वर्षको साेही अवधिमा कम्पनीकाे नाफा ७ करोड १४ लाख रुपैयाँ रहेकाे थियाे ।

लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ३७ करोड ८ लाख रुपैयाँबाट बढेर गत आर्थिक वर्ष ४४ करोड २१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, लघुवित्तको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको १० करोड ५४ लाख रुपैयाँबाट बढेर १५ करोड २१ लाख रुपैयाँ पुगेको छ।

गत असार मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ३४ करोड १० लाख ८६ हजार रुपैयाँ रहेको छ भने सञ्चित नाफा र जगेडा कोष गरी कुल कोष २९ करोड १७ लाख २३ हजार रुपैयाँ पुगेको छ।

यो अवधिमा संस्थाको वितरणयोग्य मुनाफा ९ करोड २५ लाख रहेको छ भने लाभांश क्षमता २७.१३ प्रतिशत पुगेको छ । यद्यपी संस्थाको खराब कर्जा अनुपात भने ७.४८ प्रतिशतबाट बढेर ९.०४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३१.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.५२ रुपैयाँ र तरलता अनुपात २०.४३ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : August 3, 2026 at 9:50 am