१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

स्थानीयबासीलाई प्रिमियममा होइन अंकित मूल्यमै आईपीओः इप्पान

१७ साउन, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अंकित मूल्यमा नै सेयर उपलब्ध गराउन आग्रह गरेको छ । इप्पानले आयोजना प्रभावित बासिन्दालाई सेयर अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन माग गरेको हो ।

इप्पानले आइतबार जारी गरेको विज्ञप्तिमा केही जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि कतिपय प्रवद्र्धक कम्पनीहरूले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इप्पानका अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ (४) ले प्रभावित स्थानीयको हितका लागि १० प्रतिशत सेयर छुट्याउने कानुनी व्यवस्था गरेकाले त्यसलाई अंकित मूल्यमै कार्यान्वयन गरिनुपर्छ । आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, सामाजिक तथा वातावरणीय प्रभाव सहने र निर्माणका असुविधा व्यहोर्ने स्थानीय समुदायलाई प्रिमियम मूल्यमा सेयर दिँदा उनीहरूको पहुँच सीमित हुने र आयोजनाप्रतिको अपनत्व एवं विश्वास कमजोर बन्ने इप्पानको ठहर छ ।

स्थानीयलाई अंकित मूल्यमै सेयर उपलब्ध गराउँदा सामाजिक विवाद र अवरोध घट्नुका साथै आयोजना निर्माणमा सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ । साथै, इप्पानले साधारण सेयर निष्कासनका प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन नियामक निकायहरूलाई आग्रह गर्दै आईपीओमा भएको ढिलाइले सिर्जना गरेका समस्या शीघ्र समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : August 2, 2026 at 5:38 pm