१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

माथिल्लो जुनबेँसी आयोजनाको १३.१८ किमि प्रसारण लाइनको आइईई प्रतिवेदन सार्वजनिक

१७ साउन, काठमाडौं । सोलुखुम्बुको ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) प्रतिवेदन सार्वजनिक गरिएको छ।

विद्युत् विकास विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि वडा नं. ३ मा निर्माणाधीन तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको स्विचयार्डसम्म ८.४७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन तथा त्यहाँबाट जुनबेँसी हब पुलिङ स्टेसनसम्म ४.७१ किलोमिटर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गरिने जनाएको छ।

प्रवर्द्धक गोर्खाज हिमालयन हाइड्रो लिमिटेडले विद्युत् नियमावली, २०५० बमोजिम प्रसारण लाइन निर्माण अनुमति माग गरेपछि आइईई प्रतिवेदन तयार गरिएको विभागले जनाएको छ। प्रतिवेदनअनुसार आयोजना निर्माण तथा सञ्चालनबाट उल्लेखनीय प्रतिकूल वातावरणीय असर पर्न सक्ने भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले लिखित राय–सुझाव पेश गर्न सक्नेछन्।

प्रस्तावित प्रसारण लाइनको कुल लम्बाइ १३.१८ किलोमिटर हुनेछ। यसअन्तर्गत ३३ केभी प्रसारण लाइनमा २०९ वटा स्टिल ट्युबुलर पोल र १३२ केभी प्रसारण लाइनमा दुईवटा टावर निर्माण गरिनेछ।

आयोजनाका लागि स्थायी रूपमा करिब ०.५ हेक्टर र अस्थायी रूपमा करिब ०.५३ हेक्टर जग्गा आवश्यक पर्नेछ। प्रसारण लाइनको राइट अफ वे (अधिकार क्षेत्र) अन्तर्गत करिब ९.६६ हेक्टर जग्गा पर्ने विभागले जनाएको छ।

विभागका अनुसार ३३ केभी प्रसारण लाइनका लागि न्यूनतम ६.६२ मिटर र १३२ केभी प्रसारण लाइनका लागि १८ मिटर अधिकार क्षेत्र कायम गरिनेछ। प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा विद्युत् ऐन, २०४९ तथा प्रचलित वातावरणीय मापदण्डअनुसार भू–क्षय, बाढी र वायु प्रदूषणलगायतका प्रभाव न्यूनीकरण गर्दै आयोजना कार्यान्वयन गरिने विभागले जनाएको छ।

प्रकाशित मिति : August 2, 2026 at 2:43 pm