साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिसेयर आम्दानी कति ?
१७ साउन, काठमाडाैं । साहस ऊर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.८४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ८९ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको र नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी आम्दानी गरिरहेको छ । कम्पनीले गत आर्थिक वर्ष विद्युत बिक्री गरी २ अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २ अर्ब ६४ करोड रुपैयाँ थियो । प्रत्यक्ष कर तथा अमोर्टाइजेसन कट्टा गरेपछिको कुल नाफा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च घटाई सञ्चालन नाफा १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको वित्तीय खर्च (ब्याज दायित्व) अघिल्लो वर्षको ८० करोड २१ लाख रुपैयाँबाट घटेर ५७ करोड ७५ लाख रुपैयाँमा झरेको छ।कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष गत आर्थिक वर्ष बढेर ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कोषको आधार ३ अर्ब १६ करोड २० लाख रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ५८ पैसा रहेको छ ।
प्रकाशित मिति : August 2, 2026 at 12:05 pm



