‘स्वर्णिम सांगीतिक साँझ’ : दीप श्रेष्ठ र रामकृष्ण ढकालको गायकीमा झुमे दर्शक
एडिलेड (अष्ट्रेलिया) — नेपाली सङ्गीत आकाशका सदाबहार गायक दीप श्रेष्ठ र रामकृष्ण ढकाललाई एउटै मञ्चमा प्रत्यक्ष सुन्ने अवसर जुराएको ‘स्वर्णिम सांगीतिक साँझ’ अष्ट्रेलियाको एडिलेडमा भव्य, सभ्य र सफल रूपमा सम्पन्न भएको छ।
सारङ्गी इभेन्ट्सको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। सुरुदेखि अन्तिम क्षणसम्म दर्शकहरू दुई प्रिय गायकको सांगीतिक झुमेका थिए ।
कार्यक्रममा सदाबहार गायक दीप श्रेष्ठले ‘म त दूरदेखि आएँ’, ‘म पत्थरको देवता होइन’, ‘झस्किएको छ मन मेरो’ र ‘बितेका कुराले’ लगायतका कालजयी गीतहरू प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै, गायक रामकृष्ण ढकालले लाइभ ब्याण्ड र ट्र्याकमार्फत आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै माहोललाई थप जीवन्त बनाउनुभयो। ढकालका लोकप्रिय गीतहरूमा सम्पूर्ण दर्शकहरू नाच्दै र गाउँदै कार्यक्रमको अन्तिमसम्म रमाएका थिए।
सांगितिक माहोलका बिचमा नेपाली गीत–सङ्गीतमा महत्वपुर्ण योगदान पुर्याएबापत दीप श्रेष्ठ र रामकृष्ण ढकाललाई कार्यक्रमका अवसरमा विशेष सम्मान गरिएको थियो ।
एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक थिर गुरुङ र एडिलेड नेपाली समाजका अध्यक्ष श्याम दाहालले दोसल्ला ओढाएर मायाको चिनोसहित दुवै कलाकारलाई सम्मान गर्नुभएको थियो।
कार्यक्रमको समापन पछि संचारकर्मीहरु संग कुरा गर्दै गायक दीप श्रेष्ठले एडिलेडवासी नेपाली समुदायले देखाएको आत्मीयता, सम्मान र मायाले आफु अत्यन्त भावुक बनेको र प्रवासमा पनि नेपाली सङ्गीतप्रतिको यो प्रेम जीवनभर स्मरणीय रहने बताउनुभयो।
अर्का लोकप्रिय गायक रामकृष्ण ढकालले एडिलेडका दर्शकबाट अपेक्षाभन्दा धेरै माया पाएको उल्लेख्य गर्दै नेपालीहरू जहाँ रहे पनि आफ्नो भाषा र संस्कृतिसँग जोडिएको देख्दा थप ऊर्जा मिलेको बताउनुभयो।
कार्यक्रमका आयोजक सारङ्गी इभेन्ट्सका निर्देशक हेम श्रेष्ठ ले कार्यक्रम सफल बनाउन साथ दिने सम्पूर्ण दर्शक, स्वयंसेवक, सहयोगी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले एडिलेडवासी नेपाली समुदायको उत्साह र विश्वासले भविष्यमा अझ गुणस्तरीय कार्यक्रम आयोजना गर्ने हौसला थपिएको बताउनुभयो।
त्यसैगरी, कार्यक्रमका संयोजक विकास पौडेल उदास ले समुदायले देखाएको अभूतपूर्व साथ र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन खटिएका सम्पूर्ण स्वयंसेवक, सहयोगी, प्रायोजक, सञ्चारकर्मी तथा सहभागी सबैलाई धन्यवाद दिनुभयो। उहाँले नेपाली कला, संस्कृति र सङ्गीतलाई प्रवासमा जीवन्त राख्ने उद्देश्यका साथ यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर आयोजना गरिने विश्वास व्यक्त गर्नुभयो।
सहभागीहरूको उत्साहपूर्ण उपस्थिती, अनुशासित वातावरण, कलाकारहरूको उच्चस्तरीय प्रस्तुति र समुदायबाट प्राप्त सकारात्मक प्रतिक्रियाले ‘स्वर्णिम सांगीतिक साँझ’ एडिलेडमा यस वर्ष आयोजना भएका सबैभन्दा सफल र स्मरणीय नेपाली सांगीतिक कार्यक्रममध्ये एकका रूपमा स्थापित भएको अनुभूति सहभागीहरूले व्यक्त गरेका छन्।



प्रकाशित मिति : August 2, 2026 at 8:51 am



