करदाता प्रोत्साहन उपहार योजना लागू, राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई दियो यस्तो निर्देशन
१५ साउन, काठमाडाैं । सरकारले घोषणा गरेको बिलमा आधारित करदाता प्रोत्साहन उपहार कार्यक्रम–२०८३ आगामी २१ साउन २०८३ देखि कार्यान्वयनमा आउने भएको छ। कार्यक्रम सञ्चालनका लागि आन्तरिक राजस्व विभागले आवश्यक कार्यविधिसमेत तयार गरिसकेको छ।
नेपाल सरकार, आन्तरिक राजस्व विभागले सञ्चालन गर्न लागेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ लाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले विशेष सक्रियता देखाएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालै एक सूचना जारी गर्दै सबै अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक (PSP)हरूलाई यस कार्यक्रममा सहजीकरण गर्न निर्देशन दिएको हो। विद्युतीय प्रणालीमार्फत कर तिर्ने करदाताहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको यस कार्यक्रमलाई सफल बनाउन राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूका लागि देहाय बमोजिमका कार्यहरू गर्न अनिवार्य गरेको छ।
सबै भुक्तानी सेवा प्रदायकहरूले आफ्नो मोबाइल एपमा ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सँग सम्बन्धित र ग्राहकले बारम्बार सोध्न सक्ने प्रश्नहरू (FAQ) को छुट्टै खण्ड समावेश गर्नुपर्नेछ।
त्यसैगरी, २१ साउनदेखि मोबाइल एपमार्फत उक्त कार्यक्रममा सहभागी हुने व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ। कार्यक्रम सञ्चालनका लागि मोबाइल एप अद्यावधिक (अपडेट) गर्नुपर्ने भए त्यससम्बन्धी सूचना पनि ग्राहकलाई समयमै पठाउन निर्देशन दिएको छ।
प्रकाशित मिति : July 31, 2026 at 12:51 pm



