१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

संसद्‌मा कांग्रेसको प्रश्नः हिजो आक्रोश पोख्ने र आँसु झार्ने प्रधानमन्त्री र गृहमन्त्री आज किन मौन?

१४ साउन, काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङ मौन बसेको आरोप लगाएको छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा सरकारले अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक नगरेको बताइन्।

‘आज कप्तानगञ्जमा एक नेपाली युवाले ज्यान गुमाएका छन्। दर्जनौँ युवा गोली लागेर घाइते भएका छन्। एउटा परिवारले आफ्नो छोरा गुमाएको छ, एउटी आमाले आफ्नो कोख रित्याएकी छिन् र एउटा बाबुले आफ्नो सहारा गुमाएको छ। तर यति ठूलो घटनापछि पनि सरकार मौन छ,’ उनले भनिन्।

dainiki.com

उनले नागरिकले ज्यान गुमाउँदा सरकारले देखाएको उदासीनताले राज्यप्रतिको भरोसा कमजोर बनाएको टिप्पणी गरिन्। नेतृत्व भनेको केवल प्रशासन चलाउनु मात्र नभई संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नु पनि रहेको उल्लेख गर्दै उनले सरकार आफ्नो प्राथमिक दायित्वबाट विमुख हुन नमिल्ने बताइन्। ‘हिजो आक्रोश पोख्ने र सदनमा आँसु झार्ने प्रधानमन्त्री र गृहमन्त्री आज आफ्नै नागरिकको मृत्यु हुँदा किन मौन हुनुहुन्छ?,’ उनले प्रश्न गरिन्।

उनले काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा बालेन शाहले भदौ २३ को घटनाबारे सामाजिक सञ्जालमा लेखेको अभिव्यक्ति पनि स्मरण गराउँदै प्रधानमन्त्री बनेपछि संवेदनशीलता परिवर्तन भएको हो भन्ने आशंका व्यक्त गरिन्।

उनले भनिन्, ‘एउटा नेपाली युवाको मृत्यु हुँदा त्यो संवेदनशीलता कहाँ हरायो? त्यो आवाज आज किन सुनिँदैन? तपाईंले लगाएको कालो चस्माले मृत्यु र पीडाको रङ पनि फरक–फरक देख्छ र ?’

प्रकाशित मिति : July 30, 2026 at 12:58 pm