संसद्मा एमालेको प्रश्नः सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ?
१४ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले किन राजीनामा दिनेकी भदिने भन्दै प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै सुनसरीमा पनि मानिसको ज्यान गएको अवस्थामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताइन् ।

अर्यालले भनिन्, ‘काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जबाफदेहिता लिनुपर्छ, थुनामा बस्नुपर्छ, राजीनामा दिनुपर्छ भने सुनसरीमा गोली चल्दा, मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन? थुनामा बस्न पर्छ कि पर्दैन?’
देशमा यति ठूलो हिंसात्मक अवस्था सिर्जना हुँदा पनि प्रधानमन्त्री जनतामाझ नदेखिएको भन्दै उनले प्रश्न गरिन्, ‘प्रधानमन्त्री पद सिंहदरबार सजाउनका लागि होइन, संकटका बेला जनताको बीचमा पुगेर संवाद गर्नका लागि हो।’
अर्यालले सरकारले दंगा नियन्त्रण गर्न नसकेको आरोप पनि लगाइन् । उनले भनिन्, ‘देशमा शान्ति–सुरक्षा कायम गर्न राज्य असफल भएको छ । दंगा नियन्त्रण गर्नुको सट्टा सरकारले आफैं त्रास सिर्जना गरेको छ ।’
प्रकाशित मिति : July 30, 2026 at 12:14 pm



