सुनसरी घटनाबारे रवि लामिछानेः संवेदनशील घटनालाई राजनीतिकरण नगरौं
१२ साउन, काठमाडाैं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लाहरूमा हालै भएको संवेदनशील तथा दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्ति, सामाजिक सद्भाव र संयमता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले रास्वपाले स्थिति सामान्य बनाउन नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण गरिरहेको उल्लेख गरेका छन्। साथै, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गर्न, दोषीमाथि कडा कानुनी कारबाही, पीडितलाई उचित न्याय, क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ।

‘सुनसरी लगायतका पूर्वी जिल्लामा हालै घटेको अत्यन्तै संवेदनशील र दुःखद घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गम्भीर ध्यानाकर्षण भएको छ। यस घटना र यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको छ,’ उनले भनेका छन्, ‘यस दुःखद घडीमा, घटनामा परी ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं।’
उनले कुनै पनि समस्याको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गरेका छन् । ‘कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन भन्ने हाम्रो स्पष्ट मान्यता छ। नेपाली समाजको सबैभन्दा ठूलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौंदेखिको सामाजिक सदभाव हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसलाई खलबलाउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्याउने गरी कुनै पनि गतिविधि नगर्न/नगराउन हामी सम्पूर्ण आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा हार्दिक अपिल गर्दछौं।’
सभापति लामिछानेले उक्त संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्षसँग विशेष आग्रह गरेका छन्।

प्रकाशित मिति : July 28, 2026 at 5:44 pm



