वित्तीय ठगी बढ्दै, राष्ट्र बैंकले सार्वजनिक गर्यो स्क्याम चिन्ने प्रमुख संकेत
१२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय प्रविधिको विकाससँगै वित्तीय ठगी (स्क्याम) का घटना र शैली परिवर्तन हुँदै गएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। बैंकले वित्तीय चेतनामूलक सन्देश सार्वजनिक गर्दै स्क्यामका विभिन्न संकेत समयमै पहिचान गर्न सके ठगीबाट जोगिन सकिने जनाएको हो।
राष्ट्र बैंकका अनुसार स्क्यामरहरूले विश्वासिलो कथा, नयाँ प्रविधि तथा आकर्षक प्रस्तावमार्फत व्यक्तिको पैसा वा वित्तीय सूचना चोरी गर्न सक्ने भएकाले जो कोही पनि यसको शिकार बन्न सक्छन्।
राष्ट्र बैंकले वित्तीय ठगीका प्रमुख संकेतहरू सार्वजनिक गर्दै अपरिचित व्यक्ति वा संस्थाले पठाएका लिंक खोल्न आग्रह गर्नु, अस्वाभाविक शैलीमा कुरा गर्दै रकम पठाउन वा वित्तीय विवरण माग्नु, आफूले पठाउनुपर्ने खाताभन्दा फरक खातामा रकम पठाउन लगाउनु, सामाजिक सञ्जालमार्फत मात्रै वित्तीय कारोबार गर्न खोज्नु तथा प्रयोगकर्ताकाे नाम, पासवर्ड, पिन वा ओटीपी माग्नु जस्ता गतिविधि देखिए सतर्क हुन आग्रह गरेको छ।

त्यसैगरी तुरुन्तै कारोबार गर्न दबाब दिनु, नयाँ बैंक खाता वा विवरण उपलब्ध गराउन अनुरोध गर्नु तथा धेरै नाफा, कम जोखिम जस्ता आकर्षक लगानी प्रस्ताव वित्तीय ठगीका संकेत हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार यस्ता ठगीमा परेपछि पीडितबाट आफ्नै हातले रकम पठाइने , प्रयोगकर्ताकाे नाम, पासवर्ड, पिन तथा ओटीपी जस्ता वित्तीय विवरण चोरी हुने र मोबाइल वा कम्प्युटरमा रिमोट एक्सेस वा स्क्रिन सेयरिङमार्फत पहुँच स्थापित गरी वित्तीय साधनमाथि नियन्त्रण जमाउने जस्ता जोखिम उत्पन्न हुन सक्छन्।
राष्ट्र बैंकले कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल कारोबार रोक्न, सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता पुष्टि गर्न तथा आवश्यक परे साइबर ब्युरो, नेपाल प्रहरी, सम्बन्धित वित्तीय संस्था र नियामक निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

प्रकाशित मिति : July 28, 2026 at 11:03 am



