रसुवागढी हाइड्रोपावर कम्पनीमा सीईओ पदका लागि आवेदन खुला
११ साउन, काठमाडाैं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न आवेदन आह्वान गरेको छ।
उम्मेदवारले इलेक्ट्रिकल, मेकानिकल वा सिभिल इन्जिनियरिङ अथवा व्यवसाय प्रशासनमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ। वैकल्पिक रूपमा सम्बन्धित इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा १२ वर्षको व्यावसायिक अनुभव भएका उम्मेदवार पनि आवेदन दिन योग्य हुनेछन्।

कम्पनीले जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनमा वरिष्ठ तहको अनुभव भएका तथा जलविद्युत् कम्पनीमा सीईओ वा समकक्ष नेतृत्वदायी भूमिकामा काम गरिसकेका उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ। साथै, आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ४० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।
कम्पनीले योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकबाट १५ दिनभित्र दरखास्त पेश गर्न सूचना प्रकाशित गरेको हो। सीईओको नियुक्ति करार सेवाअन्तर्गत हुनेछ भने कार्यकाल प्रारम्भिक रूपमा चार वर्षको रहने उल्लेख गरिएको छ। इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित कम्पनीको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा वा कम्पनीले तोकेको इमेलमार्फत आवेदन पेश गर्न सक्नेछन्।
प्रकाशित मिति : July 27, 2026 at 9:21 am



