८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

अब वालेट खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, असोज मसान्तसम्म अद्यावधिक गर्नुपर्ने

८ साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (वालेट) सम्बन्धी व्यवस्थामा संशोधन गर्दै वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण यकिन गर्नुपर्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को अ.प्रा. निर्देशन नं. १५/०८२ मा संशोधन गर्दै नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गरेर मात्रै वालेट खोल्ने व्यवस्था गर्न भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको हो।

निर्देशनअनुसार अनुमतिपत्रप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको सम्बन्धमा स्वःघोषणा लिनुपर्नेछ। त्यस्तै, राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकको हकमा सोही अवधिभित्र सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

dainiki.com

राष्ट्रिय परिचयपत्र नलिएका नेपाली नागरिकको हकमा भने राष्ट्रिय परिचयपत्र प्राप्त गरी ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्न प्रेरित गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई प्रत्येक महिनामा मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट जानकारी दिने व्यवस्था गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले भने विदेशमै बसेर अनलाइनमार्फत वालेट खोल्दा राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न सक्नेछन्। तर नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित वालेट प्रदायकले राष्ट्रिय परिचयपत्र विवरण लिएर अद्यावधिक गर्नुपर्नेछ।

यस्तै, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा पनि राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : July 24, 2026 at 5:30 pm