सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सा हटाएर ‘लु भ्याकुर’ गुम्बाको चित्र राख्न निर्देशन दियोः भीम रावल
३ साउन, काठमाडाैं । नेकपाका नेता डा. भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णय अर्को राष्ट्रघाती कदम भएको बताएका छन् । रावलले आइतबार सामाजिक सञ्जालमा लेख्दै एक रुपैयाँको नेपाली सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा हटाएर अर्को चित्र राख्ने निर्णय गरिएको भन्ने विषय सार्वजनिक भएको भन्दै सरकारसँग जवाफ मागेका हुन् ।

‘बालेन्द्र शाहको प्रधानमन्त्रीत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले गत असार ३२ गते एक रुपैयाँको नेपाली सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटिएको नेपालको नक्सा हटाएर अमेरिकी सहयोगमा बनेको लु भ्याकुर भन्ने गुम्बाको चित्र राख्ने निर्णय गरी राष्ट्र बैंकलाई निर्देशन दिएको भन्ने कुरा बाहिर आएको छ’, उनले भनेका छन्, ‘यदि यस्तो गरिएको हो भने प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिए पछिको अर्को गम्भीर राष्ट्रघाती र नेपालको भौगोलिक अखण्डताविरुद्धको घातक निर्णय गरिएको ठहरिनेछ ।’
उनले यसबारेमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल सरकारले जनतालाई तत्काल यथार्थ जानकारी गराउनुपर्ने बताएका छन्।

प्रकाशित मिति : July 19, 2026 at 12:21 pm





