३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

३३.५१ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, लाभांश क्षमता कति ?

३ साउन, काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आर्जित ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँको तुलनामा ३३.५१ प्रतिशत बढी हो।

यस्तै गत आर्थिक वर्षकाे चाैँथाे त्रैमाससम्ममा बैंककाे खुद ब्याज आम्दानी पनि ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ८ लाख रूपैयाँ पुगेकाे छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३१ करोड ८४ लाख ९४ हजार रूपैयाँ रहेकाे थियाे ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ। यस हिसाबले  बैंकले १५.१६ प्रतिशत लाभांश क्षमता बनाएको छ। समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ३२.८७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४ करोड ४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।

dainiki.com

असार मसान्तसम्मको अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज गत वर्षको ४१ करोड ८१ लाख रुपैयाँबाट घटेर १३ करोड ६५ लाख रुपैयाँमा झरेको छ। अघिल्लाे आर्थिक वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ३.४९ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर ३.७७ प्रतिशत पुगेको छ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ सञ्चित छ। बैंकले समीक्षा अवधिमा कुल ६६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

याे अवधिमा बैंककाे प्रतिसेयर आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षमा १९.०८ रुपैयाँ रहेको बैंककाे प्रतिसेयर आम्दानी समीक्षा अवधिमा बढेर २२.७५ रुपैयाँ पुगेको छ। यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १६९.१२ रुपैयाँबाट बढेर १७१.०१ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : July 19, 2026 at 9:35 am