साउनमा पनि घट्यो बैंकहरूको निक्षेपको ब्याजदर, कुनको कति ?
३२ असार, काठमाडाैं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । नेपालका २० वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार असारको तुलनामा साउन महिनामा निक्षेपको औसत ब्याजदर घटेको देखिन्छ।
औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशतबाट घटेर साउनमा ४.१६७५ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत निक्षेपको औसत दर पनि ३.१८ प्रतिशतविन्दुबाट घटेर साउनमा ३.११६ प्रतिशतविन्दुमा झरेको छ।
साउनका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेकाे छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर असारको ४.७५ प्रतिशतबाट ०.७५ प्रतिशतविन्दुले घटाएर ४ प्रतिशत कायम गरेको छ।
संस्थागत निक्षेपतर्फ पनि बैंकले ब्याजदर ४ प्रतिशतबाट एक प्रतिशतविन्दुले घटाएर ३ प्रतिशतमा झारेको छ। ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशतबाट घटाएर ४ प्रतिशत र संस्थागततर्फको दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरेको छ।
एनएमबि बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४.७५ प्रतिशतबाट ४.५ प्रतिशतमा झारेको छ। संस्थागत निक्षेपको दर पनि ४ प्रतिशतबाट घटाएर ३.५ प्रतिशत कायम गरिएको छ।
सिटिजन्स बैंक इन्टरनेशनलले व्यक्तिगततर्फ ०.१५ प्रतिशतविन्दु र संस्थागततर्फ ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ। साउनमा बैंकको व्यक्तिगत निक्षेपको अधिकतम दर ३.९५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत कायम भएको छ।
कुमारी बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ३.९१ प्रतिशतबाट ३.८५ प्रतिशतमा तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशतबाट ३.८५ प्रतिशतमा झारेका छन्। दुवै बैंकले संस्थागत निक्षेपको दर भने यथावत् राखेका छन्।
कृषि विकास बैंकले व्यक्तिगत निक्षेपको दर स्थिर राखे पनि संस्थागत निक्षेपको ब्याजदर २.७८ प्रतिशतबाट सामान्य घटाएर २.७५ प्रतिशत कायम गरेको छ।
समीक्षा अवधिमा नेपाल बैंकले संस्थागततर्फ ब्याजदर बढाएकाे छ । याे अवधिमा बैंकले व्यक्तिगत ब्याजदर स्थिर (४.२५ प्रतिशत) राखे पनि संस्थागत निक्षेपतर्फको दरमा ३ प्रतिशतबाट १ प्रतिशतविन्दुको वृद्धि गरी ४ प्रतिशत पुर्याएको छ। यो साउनका लागि वाणिज्य बैंकहरूले संस्थागत निक्षेपमा प्रस्ताव गरेको सबैभन्दा उच्च ब्याजदर हो।
नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक र प्राइम कमर्सियल बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपको ब्याजदर परिवर्तन गरेका छैनन्।
साउनमा व्यक्तिगत निक्षेपतर्फ नबिल बैंक र प्रभु बैंकले सर्वाधिक ४.५५ प्रतिशत ब्याजदर दिने भएका छन्। व्यक्तिगत निक्षेपको सबैभन्दा कम अधिकतम ब्याजदर कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको समान ३.८५ प्रतिशत रहेको छ।
प्रकाशित मिति : July 16, 2026 at 10:21 am





