आज बजारबाट १ खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
३१ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ९१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्। इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २८ गते गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।
प्रकाशित मिति : July 15, 2026 at 12:37 pm





