सिद्धार्थ बैंकका सञ्चालक भोजन अर्याल स्वर्णिम वाग्लेको सल्लाहकारमा नियुक्त
२९ असार, काठमाडौँ । सिद्धार्थ बैंकका सञ्चालक भोजन अर्याल अर्थमन्त्री डा स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा नियुक्त भएका छन । बैंकको करोडौँ रूपैयाँ ऋणको कीर्ते काण्ड सार्वजनिक भएको एक साता पनि बित्न नपाउँदै सञ्चालक अर्याल अर्थमन्त्रीको राजस्व सल्लाहकार नियुक्त भएका हुन ।
वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन । मन्त्रालयमा आयोजित एक कार्यक्रममा एफसीए अर्याललाई अर्थमन्त्रीले नियुक्तिपत्र प्रदान गरे । अर्याललाई निर्देशन दिँदै वाग्ले सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न विज्ञता र दक्षताको इमानदारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए ।

सो अवसरमा बोल्दै नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक्षता एवं अनुभवको माध्यमबाट नतिजामा देखाउने प्रतिबद्धता व्यक्त गरे । स्याङ्जा स्थायी घर भएका अर्याल १५ वर्षदेखि लेखापरीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय रहेका छन ।
सिद्धार्थ बैंकको मनिग्राम रुपन्देही शाखाले किर्ते कागजातको प्रयोग गरी सेवाग्राहीलाई झुटो कर्जामा फसाएको भन्दै पीडित सेवाग्राहीले छानबिनको माग राखेको एक साता नबित्दै अर्याल मन्त्रीको सल्लाहकार नियुक्ति भएको चाल पाएपछि कतिपय छक्क परेका छन ।
पीडितमध्येका एक दीलिप ओलीले मनिग्राम रुपन्देही शाखाले आफूले माग नगरेको कर्जा स्वीकृत गराएको, किर्ते कागजात तयार गरी कालोसूचीमा रहेको कम्पनीका नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको तथा त्यसलाई ढाकछोप गर्न आफूलाई प्रयोग गरिएको भन्दै छानबिनको माग गरेका थिए ।
प्रकाशित मिति : July 13, 2026 at 10:02 pm





