सञ्चारमाध्यम बाहिर शंकास्पद रूपमा राखिएका सवारीसाधनको छानबिन गर्न रास्वपाको माग
२९ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शनिबार महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता गतिविधिले स्वतन्त्र पत्रकारिता र प्रेस स्वतन्त्रतामाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको जनाएको छ।
रास्वपाले राज्यको चौथो अङ्गका रूपमा स्थापित सञ्चारमाध्यम र सञ्चारकर्मीले निर्भीक रूपमा काम गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका शंकास्पद तथा रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको गम्भीर उल्लङ्घन भएको जनाएको छ।

विज्ञप्तिमा सूचना तथा सञ्चार स्वतन्त्रताको सुनिश्चितता, सञ्चारगृहमा सुरक्षित वातावरण निर्माण र चौथो अङ्गलाई सङ्कुचित पार्ने कुनै पनि प्रवृत्ति अस्वीकार्य रहेको स्पष्ट पारिएको छ। स्वतन्त्र र मर्यादित पत्रकारिता लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै रास्वपाले पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ।
रास्वपाले घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ। साथै, यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न आग्रह गरेको छ।
पार्टीले सम्पूर्ण सञ्चारकर्मी र सञ्चारगृहलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन अपिल गर्दै प्रेस स्वतन्त्रताको पक्षमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित मिति : July 13, 2026 at 5:27 pm





