बीमा दाबीमा गुनासो बढेपछि प्राधिकरणको चासो, समयमा भुक्तानी नदिएमा उजुरी दिन आह्वान
२९ असार, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा उजुरी दिन आह्वान गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै समयमा बीमा दाबी भुक्तानी नभए र बीमा कम्पनीहरुले दुख दिएमा समर्पक गर्न आग्रह गरेको हाे ।
बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा कुनै समस्या भएमा उजुरी दिन नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई आह्वान गरेको हो ।
केही बीमक, बीमकका कर्मचारी तथा सर्भेयरले बीमासम्बन्धी प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरीत कार्य गरेको भन्ने सम्बन्धमा प्राधिकरणमा विभिन्न गुनासाहरू प्राप्त भइरहेका छन्। यसै सन्दर्भलाई ध्यानमा राख्दै प्राधिकरणले कारबाहीका लागि प्रमाणसहित उजुरी पेश गर्न सार्वजनिक सूचना जारी गरेको हो।
प्राधिकरणका अनुसार यदि कुनै बीमक, बीमकको कर्मचारी, बीमा सर्भेयर वा अन्य कुनै पक्षले दुख दिएमा, गलत विवरण तयार गरेको भए वा तथ्य लुकाएको पाइएमा उजुरी गर्न सकिने छ। त्यस्तै तथ्य तोडमतोड गरेको, पक्षपातपूर्ण मूल्याङ्कन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै कानुन विपरीत कार्य गरेको भए त्यस्ता कार्यमा संलग्न व्यक्तिका विरुद्ध बीमा ऐन, २०७९ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ।
उजुरी पेश गर्दा सरोकारवालाले विभिन्न आवश्यक विवरणहरू संलग्न गर्नुपर्ने छ। जसमा उजुरीकर्ताको नाम, ठेगाना तथा सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम र समस्याको बेहोरा खुलाउनुपर्ने छ। यसका साथै बीमा दाबी नम्बर तथा बीमालेख नम्बर र दाबीलाई पुष्टि गर्ने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण आवश्यक पर्ने छ।
सर्वसाधारणले विभिन्न माध्यमबाट उजुरी पेश गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि ललितपुरको कुपण्डोलस्थित नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालयको दर्ता शाखामा प्रत्यक्ष उपस्थित भई उजुरी दिन सकिने छ। यसैगरी ईमेल ठेगाना ष्लाय२लष्ब.नयख.लउ वा नगलबकय२लष्ब.नयख.लउ मार्फत तथा हुलाकमार्फत नेपाल बीमा प्राधिकरण, केन्द्रीय कार्यालय, ललितपुर म.न.पा. १०, कुपण्डोल, ललितपुरको ठेगानामा उजुरी पठाउन सकिने छ।
प्राप्त उजुरी तथा प्रमाणहरूको गोपनीयता कायम राखी बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले स्पष्ट पारेको छ।

प्रकाशित मिति : July 13, 2026 at 11:54 am





