प्रधानमन्त्री बालेनलाई कांग्रेसको प्रश्नः मेयर हुँदा लेखेको स्टाटस बिर्सिनुभयो ?
२६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राहदानी विभागअघि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनामा प्रधानमन्त्रीमाथि प्रश्न उठाएको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले घटनाप्रति प्रधानमन्त्रीको मौनतामाथि प्रश्न गर्दै सरकारको जिम्मेवारीबारे स्पष्ट हुन आग्रह गरिन्।
उनले विपक्षमा रहँदा राज्यका कमजोरीमाथि कडा टिप्पणी गर्ने प्रधानमन्त्री अहिले सरकारको नेतृत्वमा हुँदा यस्ता घटनाबारे किन मौन रहेको भन्दै प्रश्न गरिन्।
थापाले २०७९ माघ १० गते नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रेम आचार्यले आत्मदाह गर्दा तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा पनि स्मरण गराउँदै अहिले त्यसबारे प्रधानमन्त्रीलाई सम्झना छ कि छैन भन्ने प्रश्न गरिन्।
उनले गणेश नेपालीको घटनामा राज्यको भूमिका प्रभावकारी हुन नसकेको आरोप लगाउँदै, आगोले जलेका व्यक्तिलाई तत्काल उद्धार गर्नुभन्दा प्रहरीमार्फत नियन्त्रणमा लिइएको जस्तो व्यवहार गरिएको दाबी गरिन्।

‘यो उद्धार हो कि गिरफ्तारी? उसको गल्ती के थियो—यो देशमा जन्मिएर यहीँ काम गर्नु मात्रै हो?’ भन्दै उनले सरकारसँग जवाफ मागिन्।
थापाले पछिल्लो समय निराशा र असन्तुष्टिका कारण यस्ता दुःखद घटनाहरू दोहोरिन थालेको उल्लेख गर्दै सरकारले नागरिकलाई न्याय, सुशासन र सुरक्षा प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिइन्।
उनले बिहीबार धोबी खोलामा हामफालेर एक सुकुम्बासी महिलाको मृत्यु भएको घटनाको पनि उल्लेख गर्दै यस्ता घटनाले राज्यप्रतिको नागरिकको विश्वास कमजोर बन्दै गएको टिप्पणी गरिन्।
उनले सरकारलाई सुशासन कायम गर्दै नागरिकमा सुरक्षा र न्यायको अनुभूति गराउनेतर्फ प्रभावकारी कदम चाल्न आग्रह समेत गरिन् ।
प्रकाशित मिति : July 10, 2026 at 3:38 pm





