मौद्रिक नीतिलाई सिबिफिनको स्वागत, अर्थतन्त्र चलायमान बनाउने र निजी क्षेत्रलाई सकारात्मक सन्देश
२५ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गरेको छ । सिबिफिनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व र नियामकीय सरलीकरणमा जोड दिएको बताएको छ ।
सिबिफिनका महानिर्देशक रोशन कोइरालाले जारी गरेको विज्ञप्तिमा विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने गरी नीतिगत व्यवस्थाहरू ल्याइनु प्रशंसनीय रहेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान र नीतिगत स्थिरताका लागि नीतिगत दर, नगद मौज्दात अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राख्ने निर्णय सकारात्मक छ ।’
विज्ञप्तिअनुसार बैंकका शाखा खोल्ने वा बन्द गर्ने प्रक्रियालाई थप लचिलो बनाउने, वित्तीय सेवालाई डिजिटलाइजेसन गर्दै बैंकहरूको सञ्चालन खर्च कटौती गर्न प्रोत्साहन गर्ने, विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने तथा विदेशी मुद्रा खरिदका बखत स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने व्यवस्थालाई सिबिफिनले दूरदर्शी तथा सकारात्मक कदमका रूपमा व्याख्या गरेको छ।

सिबिफिनले मौद्रिक नीति निर्माणका क्रममा जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, सुरक्षित कर्जामा कुल जोखिमका आधारमा नोक्सानी व्यवस्था, पूँजी कोष पर्याप्ततासम्बन्धी केही नियामकीय सहजीकरण तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विवेकशील नियमन सुधारका विषयमा आफूहरूले पेस गरेका महत्वपूर्ण सुझावहरू यसपटक सम्बोधन हुन नसकेको जनाएको छ।
नेपालको वर्तमान आर्थिक अवस्था, बैंकिङ क्षेत्रमाथि बढ्दो पूँजीगत दबाब, निष्क्रिय कर्जा व्यवस्थापन तथा निजी क्षेत्रतर्फ कर्जा प्रवाहलाई थप प्रभावकारी बनाउन र नेपाल सरकारको अर्थतन्त्र विस्तारको लक्ष्य हासिल गर्न आफ्ना सुझावहरू महत्वपूर्ण हुने विश्वास सिबिफिनले व्यक्त गरेको छ। परिसंघले नेपाल राष्ट्र बैंकले आवश्यक अध्ययन गरी आगामी एकीकृत निर्देशनमार्फत ती सुझावहरूलाई व्यावहारिक रूपमा यथाशीघ्र सम्बोधन गर्ने अपेक्षा समेत राखेको जनाएको छ।
सिबिफिनले जारी मौद्रिक नीतिका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनमार्फत वित्तीय स्थायित्व कायम राख्न, बैंकिङ प्रणालीलाई अझ सबल, प्रतिस्पर्धी र सक्षम बनाउन, निजी क्षेत्रको पुनरुत्थानलाई गति दिन तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर रचनात्मक संवाद, सहकार्य तथा आवश्यक सुझाव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ।
प्रकाशित मिति : July 9, 2026 at 5:39 pm





