विद्यमान समस्या समाधान गर्न पूँजीबजार विकास मार्गचित्र सार्वजनिक गर्दै सेबोन
२५ असार, काठमाडाैं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र बजारमा देखिएका विद्यमान समस्या समाधान र लगानीकर्ताको हित संरक्षणका लागि विशेष पहल सुरु गरेको छ। बोर्डले बजारको सुधार र विकासका लागि आगामी साताभित्रै समयवद्ध कार्ययोजना सहितको विस्तृत पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने भएको छ।
बोर्डले विज्ञप्ति जारी गर्दै बोर्डले हाल बजारमा देखिएका समस्या र लगानीकर्ताका गुनासोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बजारमा देखिएका समस्याहरूको समाधान र लगानीकर्ताको हकहित संरक्षणका लागि यस बोर्डले गम्भीर रूपमा गृहकार्य गरी आगामी सातासम्ममा समयबद्ध कार्ययोजना सहित विस्तृत रुपमा पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लगिने जनाएको छ ।

बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी लगायत सम्बद्ध संस्थाहरूलाई बोर्डबाट मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायत बजारसम्बन्धी विषयहरूका सम्बन्धमा दिइएका निर्देशन अनुरूपका कामकारवाहीहरू तोकिएको समयमा सम्पादन गराउन तथा थप स्वस्थ, सुरक्षित एवम् प्रभावकारी पूँजी बजारको वातावरण बनाउँदै धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया र नियमन व्यवस्थालाई अझ व्यवस्थित गर्न विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, लगायतका अन्य नियमावलीहरू तथा सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायत अन्य कानूनी व्यवस्थाहरूमा समसामयिक पुनरावलोकन गर्ने कार्य प्रारम्भ भइसकेको बोर्डले जारी गरेकाे विज्ञप्ति मा उल्लेख छ ।
लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिई बोर्डले कार्य अगाडि बढाई रहेकोले कसैको पनि हल्ला, बहकाऊ तथा अफवाहमा नपरी आफ्नो अध्ययन, विश्लेषणमा आधारित रही जोखिम वहन क्षमता समेतलाई ध्यान दिई सुझबुझपूर्वक लगानी गर्न समेत अनुराेध गरेको छ ।

प्रकाशित मिति : July 9, 2026 at 5:11 pm





