२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

राप्रपाको प्रश्नः के अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो ?

२५ असार, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उठेका प्रश्नको जवाफ संसद्‌मा दिने कि पार्टीको महाधिवेशनमा दिने भन्दै प्रश्न गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बाेद्दै सांसद खुस्बु ओलीले प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान र सिमाना जस्तो संवेदनशील विषयमा दिएको गैरजिम्मेवार अभिव्यक्तिको जवाफ सदनमा मागिए पनि उनले जवाफ भने रास्वपाको महाधिवेशनमा दिएको भन्दै आपत्ति जनाइन् ।

सांसद ओलीले प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ संसद्‌मा दिनुको साटो आफ्नो पार्टीको चितवन महाधिवेशनको मञ्च रोजेको भन्दै आपत्ति जनाइन् । ‘के अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो ? के सार्वभौम संसद् पार्टीको मञ्चभन्दा सानो संस्था भएको हो ?,’ ओलीले भनिन् ।

dainiki.com

संविधानले कार्यपालिकालाई संसद् प्रति उत्तरदायी बनाएको स्मरण गराउँदै उनले संसद्‌लाई बेवास्ता गर्ने प्रवृत्तिले संसदीय लोकतन्त्रको औचित्यमाथि नै प्रश्न उठाएको बताइन् । उनले रास्वपाका सांसदहरूको भूमिकामाथि पनि प्रश्न उठाइन्। ‘प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि प्रश्न उठ्यो, त्यो विषयमा तपाईँहरू किन मौन बसिरहनुभएको छ?’ उनले प्रश्न गरिन्, ‘राष्ट्रको विषय आउँदा तपाईँहरूको आवाज किन आउँदैन? केही दल, केही नेतागत निष्ठा, राष्ट्रिय स्वाभिमान र राष्ट्रियहित भन्दा माथि कसरी पुग्यो? इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र लेख्दैन, सत्तापक्षले कहिले बोल्यो, कहिले मौन रह्यो र कसको पक्षमा उभियो भन्ने कुरा पनि लखिनेछ।’

आफूबाट भएका त्रुटि सच्याउनु नेतृत्वको कमजोरी नभई उत्तरदायित्वको सर्वोच्च उदाहरणको रूपमा स्थापित हुने बताइन्। उनले भनिन्, ‘हामी सीमा बिर्सने पुस्ता होइनौँ, सीमा जोगाउने पुस्ताको प्रतिनिधि हौँ। हामी संसद्को गरिमा, संविधानको मर्म र नेपालको राष्ट्रिय स्वाभिमान भन्दा माथि कुनै दल, कुनै सरकार, कुनै पद वा कुनै व्यक्तिलाई कहिल्यै पनि राख्न सक्दैनौँ।’

प्रकाशित मिति : July 9, 2026 at 12:42 pm