नाइमा नेपाल मोविलिटी एक्सपोमा ४० भन्दा बढी नयाँ उत्पादन लन्च हुने
२३ असार, काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले नाइमा नेपाल मोविलिटी एक्सपो २०२६ को घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर नाइमाले एक्सपोको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ ।
साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्सपो आयोजना हुनेछ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्सपोका रूपमा आयोजना हुने दाबी गरिएको यस प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादन लन्च हुने बताइएको छ । एक्सपोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेटिनेछन्।

पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट सुरु भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिइन । उनले यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत प्लेटफर्मको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको स्पष्ट प्रतिबिम्ब रहेको बताइन ।
अध्यक्ष वैद्यले नाइमाको दृष्टि एक्सपोमा मात्र सीमित नभई मोबिलिटी, पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह र आर्थिक वृद्धिसँग जोडिएको नाइमाको समग्र कार्यदिशामा प्रतिबिम्बित भएको बताइन ।
कार्यक्रममा नाइमाका बोर्ड सदस्य सन्दीप शारडाले निजी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको भन्दै यस्ता प्रदर्शनीहरूले व्यवसायिक गतिविधि विस्तार, लगानीको वातावरण निर्माण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिशीलता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

एक्सपोका संयोजक गौरव शारडाले गत वर्षको प्रिमियम अनुभवलाई अझ परिस्कृत गर्दै सन् २०२६ को संस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्री बनाइने बताए । उनले यस वर्षको एक्सपोलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको एक महत्वपूर्ण र ऐतिहासिक कार्यक्रम बनाउन नाइमाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
प्रकाशित मिति : July 7, 2026 at 6:07 am





