आकासमा मन्त्रीको हेलिकप्टर उडिरहँदा कर्णालीमा डुबेका जनताको उद्धार भएनः ज्ञानेन्द्र शाही
२२ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णालीमा भएका नागरिकले विपद्को बेला राज्यको उपस्थिति महसुस गर्न नपाएको भन्दै संसद्मा आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीमा हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश व्यक्त गरेका छन्।

‘कर्णालीमा १८ गते गाडी कर्णाली नदीमा खस्यो। नदीको बीचमा मानिसहरू हार गुहार गरिरहेका थिए। एक जना मान्छे भिरमा अड्किएका थिए। जीवनको भिक मागिरहेका थिए। गुहारले नदीको किनार थर्कियो। तर राज्यको कानसम्म पुगेन,’ शाहीले भने ।
कर्णालीमा गाडी खसेर मानिसहरू पानीको बिचमा ‘बचाइदिनुहोस् भन्दै चिच्याइरहँदाको बीभत्स दृश्य स्मरण गर्दै शाहीले राज्यको संवेदनहीनतामाथि प्रश्न उठाए । उनले भने, ‘नदीको बिचमा मानिसहरू जीवनको भिख मागिरहेका थिए, त्यही बेला आकाशमा हेलिकप्टर देखियो । तर, त्यो उद्धारका लागि थिएन, केन्द्रीय मन्त्रीको सवारीका लागि थियो ।’
प्रकाशित मिति : July 6, 2026 at 1:24 pm





