बजेटले सम्बोधन गर्न नसकेका विषयलाई समेटेर मौद्रिक नीति ल्याउनुपर्छः अञ्जन श्रेष्ठ
२१ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा रहेको बताएका छन्। आइतवार प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उनले अर्थतन्त्र सुधारका लागि बजेटले सम्बोधन गर्न नसकेका विषयलाई समेटेर मौद्रिक नीति ल्याउनुपर्ने बताए ।
उनले भने, ‘मुलुकले परिवर्तन, हस्तान्तरण र पुस्तान्तरण खोजेर नयाँ छलाङ मार्ने चरणमा प्रवेश गरेको छ। जनता र व्यवसायीको मौद्रिक नीतिप्रति ठूलो अपेक्षा छ। बजेटले सम्बोधन गर्न नसकेका विषय मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास गरेका छौं ।’
श्रेष्ठले विगतका मौद्रिक नीतिले निजी क्षेत्रलाई केही राहत दिएको स्मरण गर्दै यसपटक पनि अर्थतन्त्रलाई चलायमान बनाउने साहसी र व्यवहारिक नीति आवश्यक रहेको बताए।

उनले नेपालमा करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरिरहेको दाबी गर्दै राज्य र निजी क्षेत्रको सहकार्यबाट मात्रै रोजगारी विस्तार सम्भव हुने बताए। ‘रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न सबै मिलेर काम गर्नुपर्छ,’ उनले भने।
राज्यले उद्योग र उत्पादनमूलक क्षेत्रमा आवश्यक सहयोग गर्न नसकेका कारण नेपालमा आयात बढिरहेको उनले बताए । नेपालले हाल करिब ७० प्रतिशत वस्तु आयात गरिरहेको उनको भनाइ छ ।
उनले ३० प्रतिशत मात्रै स्वदेशमै उत्पादन भइरहेको जानकारी दिए । उनले अब ७० प्रतिशत वस्तु नेपालमा नै उत्पादन हुने गरी राज्यले सोच्नुपर्ने बताए । पेट्रोलियम बाहेकका धेरै वस्तु देशभित्रै उत्पादन गर्न सकिने सम्भावना रहेको उनले बताए ।
उनले उद्योग विस्तार र स्वदेशी उत्पादन वृद्धि गर्न सकेमा अर्थतन्त्रको स्वरूप नै परिवर्तन हुने दाबी गरे । उनले व्यवसाय सञ्चालनका लागि बैंकबाट ऋण लिन जग्गा धितो राख्नुपर्ने बाध्यता रहेकाले निजी क्षेत्र जग्गामै लगानी गर्न बाध्य भएको बताए ।
प्रकाशित मिति : July 5, 2026 at 5:38 pm





