२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

बैंक तथा वित्तीय संस्थाको निक्षेप ८१ खर्ब नाघ्यो

२१ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८१ खर्ब भन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो । जुन नेपालको बैंकिङ प्रणालीमा रहेको अहिलेसम्मकै उच्च निक्षेप हो ।

 बैंकिङ प्रणालीमा रहेको निक्षेपमध्ये वाणिज्य बैंकको मात्रै ७३ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार कर्जा प्रवाह रकम ५९ खर्ब ३० अर्ब पुगेको छ । यो रकममध्ये वाणिज्य बैंकको कर्जा प्रवाह ५२ खर्ब ७५ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ६ खर्ब ५५ अर्ब रहेको छ ।

dainiki.com

राष्ट्र बैंकका पछिल्लो तथ्यांकअनुसार वित्तीय प्रणालीको ११ खर्ब ३७ अर्ब रुपैयाँ केन्द्रीय बैंकमै थुप्रिएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा र एक वर्षे ऋणपत्रमार्फत यो रकम खिचिएको हो । चालु आर्थिक वर्षको हालसम्ममा राष्ट्र बैंकले १० अर्बदेखि ४५ अर्ब रुपैयाँसम्मका १२ वटा एक वर्षे ऋणपत्र जारी गरिसकेको छ । यी ऋणपत्रमार्फत मात्रै ३ खर्ब ५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिएको छ । त्यस्तै निक्षेप संकलन उपकरणमार्फत ६ खर्ब ६९ अर्ब ३५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत १ खर्ब ६२ अर्ब ६५ करोड रुपैयाँ तरलता व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : July 5, 2026 at 12:32 pm