२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

नोभेम्बर २८ मा एडिलेडमा ‘नेपाल महोत्सव २०२६ ´आयोजना हुने

एडिलेड (साउथ अष्ट्रेलिया) — गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाले यहाँ रहेका नेपालीहरुको सबैभन्दा ठुलो र प्रतिष्ठित सांस्कृतिक उत्सव ‘नेपाल महोत्सव  २०२६’ को मिति र स्थान औपचारिक रूपमा घोषणा गरेको छ।

साउथ अष्ट्रेलियामा नेपाली कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने यो बृहत् महोत्सव आगामी २८ नोभेम्बर २०२६, शनिबारका दिन एडिलेडको ऐतिहासिक टोरेन्स परेड ग्राउन्ड (Torrens Parade Ground, Adelaide) मा आयोजना हुने भएको छ।

शनिवार  एडिलेडमा आयोजित एक कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलिया संयोजक थिर गुरुङले महोत्सवको मिति र स्थानबारे जानकारी दिदै महोत्सवलाई यहाँ रहेका सबै नेपालीहरुको सहभागितामा प्रभावकारी कार्य योजना बनाउन समुदायस्तरमा परामर्श कार्यक्रम सञ्चालन गरिने तथा महोत्सव सम्बन्धी थप विस्तृत जानकारी क्रमशः सार्वजनिक गरिने बताउनुभयो।

आगामी बर्ष २०२७ मार्चमा एडिलेडमा आयोजना हुन लागेको ओशियाना नेपाली स्पोर्ट्स मिटका कारणले प्रत्येक दुई वर्षमा आयोजना हुने नेपाल महोत्सव करिब छ महिना अगावै आयोजना हुन लागेको हो।

साउथ अष्ट्रेलियामा आयोजना हुने नेपाली समुदायका उत्सवहरूमध्ये यो महोत्सव सबैभन्दा ठुलो वार्षिक उत्सवका रूपमा लिइन्छ। महोत्सवमा नेपालका विभिन्न जातजाति तथा भूगोल झल्कने जीवन्त सांस्कृतिक प्रस्तुतिहरू, परम्परागत गीत तथा नृत्य, रैथाने नेपाली परिकार (Cuisine) का स्वादिला स्टलहरू, हस्तकलाका सामग्रीहरू, सामुदायिक जानकारीमूलक स्टलहरू र ससाना बालबालिका तथा परिवारका लागि विविध मनोरञ्जनात्मक खेलहरू मुख्य आकर्षणका रूपमा संयोजक गुरुङले बताउनुभयो।

घोषणाका लागि आयोजित कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समवन्य परिषद सचिव सुजन अधिकारीले नेपाल महोत्सव सफल बनाउन व्यक्तिगत र अन्तर्राष्ट्रिय समवन्य परिषदबाट केहि सहयोग आवश्यक भए त्यसका लागि तयार रहेको बताउनुभयो।

एनआरएनए ओशियाना क्षेत्रीय संयोजक रमेश जोशीले नेपाल महोत्सव  केवल एउटा सांस्कृतिक कार्यक्रम मात्र नभई नेपाली कला, संस्कृति, पर्यटन तथा पहिचानलाई मूलधारको अष्ट्रेलियाली समाजसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो।

कार्यक्रममा बोल्दै एनआरएनए अष्ट्रेलियाकी पूर्व महिला संयोजक तथा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्काले आफू सरकारी तहमा महोत्सवका लागि सहयोग जुटाउने कामको तयारीमा रहेको जानकारी दिँदै नेपाली समुदायको हितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, एनआरएनए ओशियाना पुर्व  सह संयोजक तथा साउथ अष्ट्रेलिया पुर्व अशोक केशीले २०१९ मा नेपाल महोत्सवको सम्पूर्ण तयारी एक महिनाभित्र सम्पन्न गर्नुपरेको अनुभव सुनाउँदै यस पटक करिब पाँच महिनाअघि नै योजना र तयारी सुरु गरिएकाले कार्यक्रम अझ व्यवस्थित र सफल हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाको पुर्व संयोजक संजय पुरी, दीपक विष्ट, एनआरएनए अष्ट्रेलियाका पुर्व सदस्य गोविन्द राना सहित वर्तमान तथा पूर्व पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन एनआरएनए साउथ अष्ट्रेलियाका सचिव युवराज पहाडीले गर्नुभएको थियो।

यस महोत्सवले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली पहिचानलाई स्थापित गर्न, आपसी भाइचारा बलियो बनाउन र बहुसांस्कृतिक सद्भाव (Multicultural Harmony) लाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको सचिव पहाडीले बताउनु भयो ।

एनआरएनए साउथ अष्ट्रेलियाले नेपाली समुदाय तथा शुभेच्छुक सबैलाई  महोत्सवमा सहभागी हुन आग्रह गरेको छ।

प्रकाशित मिति : July 5, 2026 at 9:10 am